इटहरी : सुनसरीको बर्जु गाउँपालिका–१, शुक्रबारेमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
विराटनगरबाट सुनसरीको चिमडीतर्फ जाँदै गरेको ना ६ ख २२५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५५४३ नम्बरको मोटरसाइकललाई आइतवार साँझ करिब ७ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार सुनसरीको इनरुवा नगरपालिका–१० का १६ वर्षीय कुन्दन पौदारको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै मोटरसाइकलमा सवार इनरुवा–१० कै अन्दाजी ४५ वर्षीय महानन्द पौदार र अन्दाजी २० वर्षीय सन्तोष मेहता घाइते भएका छन्।
घाइतेमध्ये महानन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक को हो भन्नेबारे पहिचान खुल्न बाँकी छ।
ट्रक र चालक सप्तरीको तिरहुत गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय विनोदकुमार मेहतालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।














Discussion about this post