कलेजका अन्तिम दिनहरू गन्दै महिना बित्छ। आमाको चहकिलो स्वरमा दशैंमा त घर आउछौ नि? यो सुन्न साथ तीजको समयदेखि नै बिदाको दिन गन्न सुरु हुन्छ।
हामी गाउँमा हुर्कियौँ। गाउँ भन्नु आफैँमा प्रकृति हो। प्रकृतिलाई मानिसहरू प्रेम मात्रै गर्दैनन्, प्रकृतिसँगै बाँच्ने प्रयास पनि गर्छन्। प्रकृतिको अद्धितीय उपहार छ र नै मानिसहरू पनि छौँ। यसैकारण पनि गाउँको रमाइलो नै प्रिय हुन्छ। शहरको कोलाहलबाट उम्किएर गाउँको रमझम, आहा !
आहा ! वरिपरि हरियाली । यस्तो सम्झिदाँ मन नै चङ्गा जस्तो उडिरहन्थ्यो। मेरो शहरमा मिल्ने एउटी साथी छिन्। हाम्रो एउटै गाउँ भएर होला, घर सँगै जाने सल्लाह हुन्थ्यो ।
ग्रामीण सडक, पुरानो बसमा उभिएर गरिएका यात्रा, मनमा घर पुग्ने खुसीका पोकाहरू फुल्थे। सानो हुँदा बाबा आमाले थानको कपडा किनेर सिलाई दिनु भएका लुगा लगाएर छिमेकीलाई देखाउदा जति खुसी मिल्थ्यो, त्योभन्दा खुसी ८/१० घन्टा उभिएर गरिएको यात्रामा मिल्थ्यो।
गाउँ फर्किने अघिल्लो रात ननिदाएर नै बिहान हुन्थ्यो। हो! यसरी दशै आफैसँग घर भित्रिएको भान हुन्थ्यो।
गाउँको लिङ्गेपिङ, ढिकिमा कुटिएको धुलो अचार यसको स्वाद नै काफी थियो।
शहरबाट अलिकति गफ लगाउन मसला थपिएको हुन्थ्यो। यस्ता साथी, उस्ता साथी । यस्तै–यस्तै केही कुरा।
घटस्थापना कै दिन राखिएका पहेँला जमराले आशीर्वाद पर्खिरहेका हुन्थे। सानो गल्लीका बाटोमा नयाँ लुगा सुर्किदै मान्छेहरू टीका थाप्न हिँड्नेको भीड देखिन्थ्यो।
मलाई दशैँमा पिङ खेल्न पाए पुग्थ्यो। अलिक सानो हुँदा टीका, जमरा खुब चासो लाग्थ्यो। शिरमा कस्को टीका कति छ? कानमा जमरा कति छ? जसको धेरै छ, त्यो नै भाग्यमानीजस्तो महसुस हुन्थ्यो।
चुलामाथि बाँसको हरियो कप्टेरोमा शिला बनाएर मासु सुकाइएको हुन्थ्यो। लाग्यो यो पो दशैँ हो। चिउरामा धुलो अचार राखेर गाईवस्तु चराउन जाँदा खानु। पिङमा पालो पर्खिनु, यस्तै–यस्तै कुराले दशैं आएजस्तो लाग्थ्यो।
रुदैँ घर छोडेर भविष्य खोज्न शहर पसेका मनहरू गाउँको यही रमाइलो पछ्याएर गाउँ फर्किन्थे।
र, अहिलेको दशैँ भने विगतका स्मरणमै बितिरहेको छ। त्यसबेला घर छोड्दा आँसु टल्किएका आँखाहरू फेरि दशैंको बहानामा गाउँ फर्केर मुस्कुराहट मुहारले सम्झिरहेछ – पिङ, धुलो अचार, टीका र जमराको सम्झना।
फेरि त्यस्तै दशैँ आए… !















Discussion about this post