विराटनगरबाट प्रहरीले स्रोत नखुलेको भारतीय नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । झापाको दमक नगरपालिका–९ का ३१ वर्षीय अजय बयलकोटी पाँच सय दरका भारतीय नोटसहित पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार भारतबाट आउँदै गरेको अवस्थामा बयलकोटीलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ गरिएको हो ।
उनको साथबाट पाँच सय दरका दुई सय आठ थान भारतीय नोट बरामद भएको छ । प्रवक्ताका अनुसार बरामद भएको भारतीय रकम नेपाली एक लाख चार हजार रुपैयाँ हुन्छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा बयलकोटीको साथबाट प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा पाँच सय दरमाथिका भारतीय नोट प्रतिबन्धित छ ।
प्रहरीले बयलकोटीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । उनले ल्याएको भारतीय नोटको स्रोत पनि नखुलेको प्रहरीले जनाएको छ ।














Discussion about this post