इटहरी (डेस्क) : नेपालीमा एउटा भनाइ नै छ – ठूलालाई चैन, सानालाई ऐन ! यस्तै भएको बुझ्न सकिन्छ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको एउटा तस्वीर हेर्दा ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भीडभाड नगर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ । तर, प्रदेश १ का मुख्यमन्त्री राई भने होलीको शुभकामना आदानप्रदान सँगै होलीमा रम्न व्यस्त छन् ।
उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा सदनमा होली खेल्न पुगे ।
जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भीडभाड नगर्न र अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
तर, बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरुको संगठन विराट व्यापार संघले आयोजना गरेको होली शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका हुन् ।
मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होली खेल्न पुगेका थिए ।
गत एकसातायता मोरङमा १८ जना कोरोना संक्रमित थपिएका छन् । यसैबीच नजिकिदैँ गरेको होली पर्व नमनाउन र भीड नगर्न प्रशासनले पटक–पटक आग्रह गरिरहेको छ ।
सुरक्षा समितिको बैठक र सीसीएमसीको निर्णय अनुसार प्रहरीले बजारमा माइकिङ गर्दै सार्वजनिक रुपमा होली नखेल्न आग्रह गरिरहेको छ ।














Discussion about this post