इटहरी : प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रादेशिक सञ्चार प्रतिष्ठानको सञ्चालक समितिमा गरिरहेको नियुक्ति प्रक्रिया तथा कार्यान्वयन रोक्न पत्रकारितासँग सम्बन्धित विभिन्न पेसागत संस्थाहरूले माग गरेका छन् ।
प्रदेश १ का प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालले संयुक्त विज्ञप्तिमार्फत प्रादेशिक सञ्चार प्रतिष्ठानको नियुक्ति तथा कार्यान्वयन प्रक्रिया रोक्न माग गरेका हुन् ।
‘प्रतिष्ठानजस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्दति र मापदण्डविपरीत एकलौटी ढङ्गले भइरहेको नियुक्तिले पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने हाम्रो निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतारहतार गरिरहेको यस नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजिरमात्र स्थापित गरेको छ । प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाएको छ ।’
विज्ञप्तिमा प्रेस सेन्टरका संयोजक श्रीशिशा राई, प्रेस युनियनका सचिव धनबहादुर पुरी, समाजवादी सङ्गठनका इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्चका सङ्घीय उपाध्यक्ष कमन देवानले हस्ताक्षर गरेका छन् ।














Discussion about this post