धरान : नेपाली कांग्रेसको चुनावी राजनीतिमा गुटबन्दी भित्रै पनि विश्वासको वातावरण नहुने गरेको देखिएको छ ।
सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदमा देउवा समूहका उम्मेदवार भनेर प्रचार गरिएपनि सोही समूहभित्रै विश्वासको वातावरण नभएका कारण धरान नगर प्रमुख तिलक राई उम्मेदवार नहुने भएपछि उक्त कुराको खुलासा भएको हो ।
देउवा समूहका धरानका कमाण्डर पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द्र तुम्बाहाङले मंगलवार बिहान पत्रकार सम्मेलन गरी तिलक राईले समूहलाई धोका दिएको आरोप लगाउँदै महिला नेतृ लक्ष्मी खतिवडा क्षेत्रीय सभापतिको उम्मेदवार भएको घोषणा गरे ।
यता,राईले भने देउवा समूहले आफ्नो नाम उम्मेदवारको रूपमा प्रचार गरेपनि औपचारिक रुपमा घोषणा नभएको दाबी गरे । उनले भने, ‘औपचारिक रुपमा देउवा समूहबाट मेरो उम्मेदवारी घोषणा भएको थिएन ।’
कांग्रेस धरान नगर समितिका सभापति हुँदा आफूलाई स्थानीय संस्थापन पक्ष भन्दै आएका तिलक राईले भने, ‘मलाई सहयोग गर्दै आएका साथीहरूले सुजेन्द्र तामाङलाई उम्मेदवार बनाउने भएपछि देउवा समूहका नेताहरूले उहाँहरूको समर्थनमा उम्मेदवार बन्न आग्रह गरेको हो ।’ हतार–हतारमा आएको यस्तो आग्रह अनुसार समूहभित्र छलफल भैरहेको थियो । उनले भने, ‘समूह भित्रैबाट कोही अन्तरघात गर्न सकृय भए ।’
राईका अनुसार समुह भित्रै अगुवाको भनाई नमान्ने अविश्वासको वातावरणमा केन्द्रिय नेताहरुले स्थलगत रुपमै सहमतिको भूमिका खेल्नुपर्ने थियो त्यस्तो भएन । एक अर्का बिच टकराव गराउने उदेश्य मात्र राखिएको जस्तो देखियो । यस्तो अवस्थामा धरान नगरबासीको विश्वास हासिल गरेको मेयरले पार्टीका साथीहरुसंग जीत–हारका लागि टकराव गर्न मुनसिब नदेखेकाले उम्मेदवार बन्न नचाहेको उनले स्पष्ट गरे ।
आफै धोका खानबाट बचेको तर कसैलाई धोका नदिएको बताउँदै मेयर राईले भने, ‘अहिलेसम्मको तयारी तथा स्थिति स्पष्ट गर्दै मैले उहाँहरूलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा हो, हिजो म तपाईहरूको समूहमा थिइन, अब मैले उम्मेदवारी नदिदाँ तपाईहरूलाई केही फरक पर्दैन भनि बताएको सम्म हो ।’














Discussion about this post