इटहरी : पछिल्लो समय युवा पुस्तादेखि विद्यार्थीहरू पनि राजनीतिमा सक्रिय हुन थालेका छन् ।
अहिले जारी नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा पनि युवा पुस्ता हाबी हुन थालेको छ । यसैबीच नेपाली कांग्रेस सुनसरी जिल्लाको आइतबार (भोलि) हुने निर्वाचनमा इटहरी ६ की २४ वर्षीया युरिका घिमिरेले सदस्य पदमा उम्मेद्बारी दिएकी छन् ।
युवा पुस्तामा पनि कलेज पढ्दै गरेका युवायुवती राजनीतिमा आउनुपर्ने उनी बताउँछिन् ।
“पढेलेखेका युवा आउनुपर्यो भनेर सक्रिय राजनीतिमा रहेर काम गर्न इच्छुक भएकी हुँ,” उनले भनिन्, “नपढी, नबुझी राजनीतिमा सक्रिय भएकाहरूका लागि प्रतिस्पर्धा गर्नका लागि हामी जस्तो मानिस आउनुपरेन ?”
इटहरीको कस्तुरी कलेजमा बिबिए अध्ययनरत उनले परिवर्तनका लागि युवाको आवश्यक पर्ने बताइन् । भनिन्, “नेपालको सिस्टम हेरेर राजनीति मार्फत समाज रूपान्तरण गर्नका लागि उम्मेद्बारी दिएकी हुँ ।”
उनले परिवर्तनका निम्ति अनुभवले मात्रै नभई अपडेट चाहिने तर्क गरिन् । “परिवर्तन अवश्य हुन्छ, तर अनुभव मात्रैले यो सम्भव छैन,” उनले टाकुरासँगको कुराकानीमा भनिन्, “अहिले नयाँ अपडेट भइरहेको अवस्थामा अध्ययन गरेर काम गर्न सकिन्छ, पुराना मानिसले नयाँ अपडेट दिन सक्दैनन् ।”
उनले पुराना नेताहरूलाई सम्मान गर्दै युवा पुस्तालाई पनि समेट्न अपिल गरिन् ।
विभिन्न संस्थामा रहेर सामाजिक काममा पनि अब्बल भूमिका निर्वाह गरेकी उनले भनिन्, “म महाधिवेशनको चक्करले राजनीतिमा आएको होइन, अब चैं राजनीतिमै लागेर समाजमा सेवा गर्न सकिन्छ भन्न उदाहरण दिनका लागि मेरो उम्मेद्बारी हो ।”
राजनीतिमा पैसा पनि खर्छ हुन्छ नि ? भन्ने प्रश्नमा उनले आफूले राम्रो काम गर्नका लागि पैसा खर्च गर्न समस्या नहुने बताइन् ।
“राजनीतिमा जिम्मेवारी लिएर अरूलाई सेवा दिन सक्यौं भने सन्तुष्टि हुन्छ, पैसा खर्च भएर केही हुन्न,” उनले भनिन्, “सरकारी कलेजको वातावरण नै राजनीति नेतृत्व उत्पादन गर्ने हुन्छ, तर निजी कलेजबाट पनि नेतृत्व जन्मिन सक्छ भन्नका लागि मैले उम्मेद्बारी दिएकी हुन् ।”














Discussion about this post