इटहरी (डेस्क) : मोरङको लेटाङ नगरपालिका ८ मा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
१२ वर्षीया बालिका करुण राईको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीलाई आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार गिरीले बलात्कारपछि पोल खुल्ने डरले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत उनको घर स्कुलबाट दुई घण्टाको पैदल दुरीमा पर्छ ।
बुधबार साढे ४ बजे स्कुल छुट्टी भएपछि एक्लै घर गएकी उनलाई बाटोमा गिरीले पिछा गरेको जिसीले बताए । उनका अनुसार जङ्गलको बाटो हिँड्ने क्रममा गिरीले बालिकालाई यौन सम्पर्कको प्रस्ताव गरेका थिए । तर, उनले नमानेपछि गिरीले जबरजस्ती करणी गरेको खुलेको छ ।
जबरजस्ती करणीपछि बालिकाले बुबालाई भन्दिन्छु भन्दै भागेपछि पोल खुल्ने डरले गिरीले समातेर बालिकाको घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘बाटोमा एक्लै देखिपछि गिरीले पछ्याउँदै गएका थिए,’ एसपी जिसीले भने, ‘जङ्गलको बीचमा पुगेपछि बालिकालाई फकाइफुल्याई गरीभित्रको बाटोबाट जाँदा छोटो पर्छ भन्दै बालिकालाई लगे, केही पर पुगेपछि शारीरिक सम्पर्कको लागि प्रस्ताव गरे,’ तर बालिकाले शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि गिरीले जबरजस्ती भुइँमा लडाएर करणी गरेका थिए ।’
जबरजस्ती करणीपश्चात बालिकाले आफूमाथि भएको घटना बुबालाई भन्दिन्छु भन्दै दौडिएपछि पोल खोल्न सक्ने डरले गिरीले घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए ।
बालिकाको हत्यापछि शवलाई ढुङ्गाले छोपेका गिरीले उनले लगाएको कपडा गिरीले आफ्नो घर छेउको खोल्सोमा जलाएको खुलेको छ । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – लेटाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि ढुङ्गाले हानेर हत्या, ६४ वर्षीय वृद्व पक्राउ
यो पनि – लेटाङमा बालिकाको शव जंगलमा गाडिएको अवस्थामा फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का














Discussion about this post