इटहरी : सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका लागि विद्यालयका प्रशिक्षण दिएको छ ।
प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउनसक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरूको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रवीनराज कर्णजितले बताए ।
“विद्यालय तहबाटै विद्यार्थीहरूले विपद् जोखिम न्यूनीकरणका सैद्दान्तिकसँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अफ्ठ्यारो अवस्थामा आफू कसरी बच्ने र अफ्ठ्यारो परिस्थतिको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउँछ ।” उनले भने ।
सशस्त्र प्रहरी बलले कोसी प्रदेशभरी करिब एक सय ७५ बढी विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम गरिसकेको उनले बताए ।
भूकम्प, बाढी, पहिरो डुबान, कटान, आगलागी, शितलहर, दुर्घटना, हावाहुरी/आँधीवरी अतिवृष्टी, अनावृष्टी, ज्वालामुखि लगायतका आपतकालीन अवस्थामा आइपर्ने समस्याका कारण, समाधान, बच्ने उपाय र समस्या आइपरेको खण्डमा के गर्ने? भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरीक्षक टेकबहादुर कटुवालले प्रशिक्षण दिएका थिए ।
विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनुमात्र नभइ विपद्अघि नै यसबाट जोगिनको लागि जनचेतनामा अभिबृद्धि गर्न ‘विपद् न्युनीकरण कार्यक्रम’को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद् न्यूनीकरणबारे प्रशिक्षण दिइएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।
विद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको पौडेलले बताए ।
विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफूहरूले आपतकालीन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने विषयमा जानकारी पाएको विद्यालयमा अध्यनरत छात्रा खुसी विष्टले बताइन् ।
सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरूको अवलोकन गरेका थिए ।
गत साता नेपाल प्रहरीसँगको सहकार्यमा “लागूऔषध दुर्व्यसन र अनलाइन इन्टरनेटका माध्ययमबाट हुने यौनजन्य हिंसाबाट कसरी बच्ने ?” विषयमा विद्यालयले सचेतना एवम् प्रशिक्षण कार्यक्रम सञ्चालान गरेको थियो ।
नियमित रूपमा विद्यार्थीहरूलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतीहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालान गर्दै आएको छ ।














Discussion about this post