इटहरी : इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ । सस्तो मूल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भीड बढेको हो ।
सुनसरीको रामधुनीबाट महोत्सवमा आएकी लक्ष्मी चौधरीले बजारमा भन्दा सस्तो मूल्यमा जुत्ता किन्न पाएको बताइन् ।
उनका अनुसार बजारमा रहेको पसलमा भन्दा महोत्सवमा जुत्ता चप्पल सस्तो पाइएको छ । उनले भनिन्, ‘बजारभन्दा आधा सस्तो लाग्यो । कस्तो रहेछ भनेर हेर्न आएको एकै स्थानमा धेरै खाले जुत्ता चप्पल पाइयो । दाम पनि सस्तो रैछ ।’
इटहरीकी सर्मिला थापाले महोत्सवमा दुई हजार रुपैयाँ पर्ने जुत्ता एक हजारमै पाएको बताइन् ।
यस्ता मेला महोत्सवले हामी जस्ता ग्राहकको पैसा बचत गरेको छ । उनले भनिन्, ‘पैसा पनि जोगियो, समय पनि । महोत्सवमा विभिन्न ब्रान्डका जुत्ता चप्पल एकै स्थानमा भेटियो। छान्नका चारतिर कुद्न पर्थ्यो । महोत्सवमा एकै ठाउँमा पाइयो ।’
समय र पैसा दुवै बचत भएको थापाले बताइन् ।
इटहरी जुत्ता चप्पल महोत्सवमा तीन हजार मेडेलका जुत्ता चप्पल उपलब्ध हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए ।
यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न ब्रान्डहरू राखिएको बताए । बच्चा, महिला, युवायुवती र ज्येष्ठ नागरिकलाई सहज हुने किसिमको जुत्ता चप्पल राखिएको छ ।
फागुन ११ गतेदेखि सुरु भएको मेलामा उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित गरी बजार प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको उनको भनाइ छ ।
स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्याउन यसको बजारीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ इटहरी जुत्ता चप्पल मेला आयोजना गरिएको आयोजकको दाबी छ ।
नेपाली जुत्ता चप्पलको बजारीकरण साथै प्रवर्द्धनमा जोड दिँदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूका विभिन्न ब्रान्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्चरिङ्ग एसोसिएसन पूर्व अध्यक्ष नानीराज घिमिरेले बताए ।
उनले नेपाली उत्पादनका जुत्ता चप्पलहरूलाई प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको र नेपाली जुत्ताले नेपालका उपभोक्ताहरूलाई पुरा गर्न सक्ने अवस्था गरेको साथै नेपाली जुत्ता निर्यात समेत हुने गरेको बताए ।













Discussion about this post