धरान : धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो ।
एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ ।
साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजारभन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताउनुभयो ।
सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताउनुभयो । । मेलामा विशेषगरी पहेँलो लुगा लगाउने, खाली खुट्टा हिँडेर वराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ ।
उद्घाटन कार्यक्रममा विजयपुर र पिण्डेश्वरलाई केन्द्र मानी यहाँका धार्मिक क्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, वराहक्षेत्र, प्राचीन हरिद्वार, कुम्भमेलालगायत पुराणमा कथालाई उद्धृत गरेर सल्लाहकार बरालले लेख्नुभएको ‘रुद्राक्षारण्य परिचय’ पुस्तकको विमोचन गरिएको थियो ।














Discussion about this post