विराटनगर : मोरङमा क्रसर उद्योगको चरम लापरबाहीका कारण दुई नाबालकको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसिङ इण्डष्ट्रिजको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीबार दुई नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुने नाबालक एकै परिवारका दाजुभाइ हुन् । क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरू १० वर्षीय भूपेन चौलागाईँ र ६ वर्षीय रामचरण चौलागाईंको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरू क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको प्रहरीले जानकारी पाएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरुमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो ।
खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत सोही खाल्डोमा भेटिएको डीएसपी जोशीले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
क्रसरको चरम लापरबाहीका कारण यो घटना भएको स्थानीयबासीको भनाइ छ ।
स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण दुई नाबालकले ज्यान गुमाउनुपरेको स्थानीयको भनाइ छ ।
उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीयले बताएका छन् ।














Discussion about this post