तरहरा : इटहरी २० तरहरा निवासी राजकुमार राईको निधन भएको छ । नेकपा (एमाले)का नेता राईको ७२ वर्षको उमेरमा सोमबार राति ९ः३० बजेतिर उपचारको क्रममा निधन भएको हो ।
किड्नी र नसा सम्बन्धी रोगबाट प्रताडित राई करिब एक सातायता विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि किड्नीको समस्याबाट ग्रसित उनी पछिल्लोपटक भने नसा सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए ।
राईको पार्थिव शरीरलाई आज (मंगलबार) बिहान इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा राखेर श्रद्धाञ्जलीसभा आयोजना गरिने तयारी छ । श्रद्धाञ्जलीसभापछि पानीपिया जंगलमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट इटहरी २० को वडाध्यक्षको उम्मेदवारसमेत रहेका राईले यसअघि विभिन्न संस्थामा आवद्ध भई नेतृत्व प्रदान गरेका थिए ।
राष्ट्रिय जनसहयोग कलेजका पूर्व अध्यक्षसमेत रहेका उनी तत्कालीन हाँसपोसा गाविस हुँदा एमालेको गाउँ कमिटी सचिवसमेत थिए ।
शालीन र नरम स्वभावका राई खोटाङको तत्कालीन याक्खा गाविसमा वि.सं. २००९ कात्तिक २० गते जन्मिएका हुन् ।
उनी बसाइँसराईको क्रममा ०४७ सालमा तरहरा आएको बताइएको छ ।
Discussion about this post