धरान : यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावका लागि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा चहलपहल बढ्दो छ।
विभिन्न विद्यार्थी संगठनहरू चुनावी अभियानमा सक्रिय रहेका छन्। यसैबीच नेपाल विद्यार्थी संघका तर्फबाट सभापति पदका उम्मेदवार सागर बस्यालले शैक्षिक अनुसन्धानमा काम गर्ने बताएका छन् ।
बस्याल विद्यार्थी हितका मुद्दामा सक्रिय रहँदै आएका छन्। हरेक विद्यार्थीको समस्या मेरो समस्या हो भन्ने मूलमन्त्रमा विश्वास राख्दै उनले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक, भौतिक तथा प्रशासनिक समस्या समाधान गर्न विभिन्न तहमा पहल गर्दै आएका छन् ।
उनी सबै विद्यार्थीहरूको सहज पहुँच हुने नेतृत्व प्रदान गर्ने लक्ष्यसहित सभापति पदमा उम्मेदवार बनेका छन् ।
क्याम्पसमा पर्ने विभिन्न प्रशासनिक समस्या, शैक्षिक गुणस्तर अभिवृद्धि, पुस्तकालय र प्रयोगशालाको आधुनिकीकरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित उनी चुनावी अभियानमा छन् ।
क्याम्पसका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने र पूर्वाधार विकासलाई प्राथमिकता दिने उनको योजना रहेको बताए ।
केही समयअघि मात्रै उनको अनुसन्धानपत्र (आरसीसी व्यापारिक भवनको संरचनात्मक विश्लेषण तथा भूकम्प प्रतिरोधी डिजाइन) स्वीकृत भएको छ। भूकम्पीय जोखिम न्यूनीकरणका लागि यो अनुसन्धान निकै महत्वपूर्ण मानिएको छ।
बस्यालको नेतृत्वमा विद्यार्थीहरूलाई अनुसन्धानतर्फ आकर्षित गर्ने, नवप्रवर्तन (इनोभेसन)को अवसरहरू सिर्जना गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने योजनाहरू रहेको उनले बताए ।
उनले क्याम्पसमा शिक्षण सिकाइलाई सुधार्न, प्रशासनिक सेवा सहज बनाउन, छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउन र अन्य सुविधाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण पहल गरेको दाबी गरे ।
उनको नेतृत्वमा विद्यार्थीहरूका लागि विभिन्न तालिम, सेमिनार, करियर गाइड कार्यक्रम तथा उद्यमशीलता प्रवर्द्धन गर्ने गतिविधिहरूलाई प्राथमिकता दिइने दाबी गरे ।
क्याम्पसमा नयाँ विद्यार्थीहरूलाई सहज अनुभूति गराउने वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेकोसमेत उनको भनाइ छ ।














Discussion about this post