इटहरी : नव युवा क्लब बूढीगंगा–६, सुकुचर, मोरङद्वारा आयोजित पाँचौं बूढीगंगा सुकुचर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि इटहरीको तालतलैया फुटबल क्लबले हात पारेको छ।
आज (बुधवार) सम्पन्न फाइनल खेलमा तालतलैयाले चुलाचुली स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो । तालतलैयाका लागि विजय भुजेलले दुई गोल गर्दै उपाधि दिलाउन सफल भए ।
खेलको ३१ औँँ मिनेटमा विजयले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ५२ औँ मिनेटमा पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गरे।
उपाधि चुमेसँगै तालतलैया फुटबल क्लबले नगद एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चुलाचुली स्पोर्टिङ क्लबले एक लाख एकहजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि तालतलैयाका खेलाडीहरूको वर्चश्व रह्यो।
तालतलैयाका लागि मौसम सुब्बा सर्वोत्कृष्ट खेलाडी, विश्वास चौधरी उत्कृष्ट गोलरक्षक, प्रवेश दनुवार उत्कृष्ट डिफेन्डर, विजय उराउ उत्कृष्ट फरवार्ड र सजीवन राई उत्कृष्ट प्रशिक्षक घोषित भए।
यसैगरी चुलाचुलीका लागि हेमन लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित हुँदा आयोजक नव युवा क्लबका आशिष चौधरी उदयीमान खेलाडी घोषित भए।
तालतलैया फुटबल क्लबका प्रशिक्षक राईले आफ्नो टोलीमा अनुभवी र घरेलु उत्पादनका नयाँ पुस्ताका खेलाडीहरूबीच सन्तुलन मिलाएर खेल योजना बनाएकाले उपाधि चुम्न सहयोग पुर्याएको बताए।














Discussion about this post