झापा : झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता सङ्ख्या ६ लाख ८२ हजार ९९३ पुगेको छ ।
यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए ।
अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ ।
“मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” न्यौपानेले भने, “एकै दिन तीन सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।”
यही कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको सङ्ख्या दुई हजार ६२२ पुगेको हो ।
कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।














Discussion about this post