इटहरी : ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ को तयारी गरिएको छ ।
कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई आगामी फागुन ७ गते इटहरीमा आयोजना हुने अवार्ड विभिन्न विधामा प्रदान गरिनेछ ।
आयोजक नयन मिडिया फाउन्डेशनका अध्यक्ष पवन अधिकारीका अनुसार गत वर्षदेखि सुरु भएको अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाइनेछ ।
फाउन्डेसनका अध्यक्ष अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।”
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो । यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको उनले बताए ।
समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अगाडि बढाइरहेको जनाएको छ ।
गत वर्ष शिक्षा क्षेत्रमा प्रा.डा. टङ्क न्यौपाने, स्वास्थ्य क्षेत्रमा ज्ञानेन्द्रमान सिंह कार्की, साहित्य क्षेत्रमा झमककुमारी घिमिरे, खेलकुद क्षेत्रमा दिलीप राई, बैंकिङ क्षेत्रमा ज्ञानेन्द्र ढुङ्गाना, पर्यटन क्षेत्रमा भविष श्रेष्ठ, कर्पोरेट क्षेत्रमा महेश जाजु, आइटी क्षेत्रमा राजन लम्साल, कृषि उद्यम क्षेत्रमा शान्ता बास्कोटा, सामाजिक अभियन्ता क्षेत्रमा गीता गौतम, पत्रकारिता क्षेत्रमा विष्णु निस्ठुरी र स्टार्टअप क्षेत्रमा आयुष भगतलाई अवार्ड प्रदान गरिएको थियो ।
यस वर्षको कार्यक्रमलाई राष्ट्रिय स्तरमै प्रभावकारी हुनेगरी तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ।














Discussion about this post