इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज भएको छ।
मंगलबार मनोनयन दर्ता गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। तर उजुरीमा प्रस्तुत दाबी प्रमाणित हुन नसकेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी दिए।
‘उजुरी खारेज भएसँगै उम्मेदवार कायम रह्यो,’ लम्सालले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘यससँगै प्रथम नामावली प्रकाशन गरिएको छ ।’
थापाविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा उजुरी दर्ता गराएका थिए।
उजुरीमा थापाले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको तथा लेखा परीक्षण प्रतिवेदनले समेत बक्यौता रहेको ठहर गरेको दाबी गरिएको थियो।
यस विषयमा बिहीबार सुनुवाइ गर्दै पर्याप्त प्रमाण नपुगेको निष्कर्षसहित थापाको उम्मेदवारी मनोनयन सदर गरिएको लम्सालले बताए।
यो पनि – रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी













Discussion about this post