धरान : धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका यात्रुबाहक बसमा आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीन बसमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १० बजेतिर ग्यारेजमा पार्किङ गरिएका बसहरूमा अचानक आगलागी भएको सूचना प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
खासगरी आगलागीबाट को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। बसमा कसले आगलागी गर्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।













Discussion about this post