इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध गर्ने संरचना हटाउन आग्रह गरेका छन्।
उनले एक सन्देशमार्फत डुबान प्रभावित बस्तीको पीडा महसुस गर्न आग्रह गर्दै कतै आफूहरूले बनाएका संरचनाले पानीको बाटो रोकेर अरूलाई दुःख दिइरहेको त छैन भन्ने आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्।
‘कतै हाम्रो एउटा संरचनाले पानीको बाटो रोकेर सयौँ घरमा आँसु त पुर्याइरहेको छैन ? यदि त्यस्तो छ भने आज आफैं इमान्दारीका साथ हटाऔँ। आफ्नै हातले भत्काउँदा सम्मान बढ्छ। भोलि डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ,’ उनले भनेका छन्, ‘आउनुस् खोला, पैनी, कुलो र पानीको बाटो खुला गरौँ, सहर बचाऔँ, बस्ती जोगाऔँ।’
थापाले खोला, पैनी, कुलो लगायत पानीका प्राकृतिक मार्ग खुला गर्नुपर्नेमा जोड दिँदै यसले सहर र बस्ती दुवै जोगाउने उल्लेख गरेका छन्।
साथै, उनले आफ्नो सन्देशलाई अन्य अर्थ नलगाउन आग्रह गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने तयारी भइरहेको जिकिर गरेका छन्।
कसैलाई बेघर बनाउने नभई सुरक्षित र सम्मानजनक आवास सुनिश्चित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘जानाजान वा अनजानमा खोला, पैनी, कुलो वा पानीको प्राकृतिक बहाव अतिक्रमण भएको रहेछ भने समयमै सच्याउनु बुद्धिमानी हुन्छ। किनकि, प्रकृति र कानुन दुवै कठोर हुन सक्छन्।’















Discussion about this post