विराटनगर । कोशी प्रदेश सरकारले असोज ३ गते मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोहको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा आयोजना हुने मूल समारोहको तयारी पूरा भएको हो।
असोज ३ गते बिहान साढे ६ बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ। प्रभातफेरी शहीद रंगशालामा पुगेर मूल समारोहमा परिणत हुनेछ। प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना गरिनेछ।
मूल समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रतियोगिता आयोजना गरिने भएको छ। त्यसैगरी खेलकौशल प्रदर्शन, प्रसिद्ध कलाकारद्वारा राष्ट्रिय गीत प्रस्तुति तथा पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछन्।
संविधान दिवसको पूर्वसन्ध्यामा असोज २ गते खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ। रोड रेसको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको थियो।
यसैगरी सामाजिक विकास मन्त्रालयले ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयमा खुला निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम, काठमाडौंकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन् ।
त्यस्तै, ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावत सान्त्वना भएकी छन् ।
संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिने भएको छ। असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान कार्यक्रम तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने सम्पूर्ण कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको प्रदेश सरकारले जनाएको छ।
















Discussion about this post