उदयपुर : चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान् माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी र निरन्तरको कटानले उनको पाँच– सात बिघा जमिन बगाइसकेको छ ।
‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन । बेलुका सुत्न पनि डर लाग्छ,’ माझीले भने, ‘असारदेखि नै कटान सुरु भयो । पानी परेका बेला राति उठेर नदीमा बाढी आयो कि भनेर हेर्न जानुपर्छ ।’
माझीको जस्तै समस्या श्रीलङ्का टप्पु र आसपासका बस्तीका धेरै परिवारको छ । हरेक बर्खामा सप्तकोशीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्छ । खेतीयोग्य जमिन बग्दै गएपछि कतिपय परिवार विस्थापित भएका छन् भने केही सुरक्षित स्थानतर्फ सर्ने तयारीमा छन् ।
बराहक्षेत्र–६ का पदम राईका अनुसार उनीहरू श्रीलङ्का टप्पुमा बसाइँ सर्दा कोशी बस्तीभन्दा निकै टाढा बग्थ्यो । ‘अहिले नदी बस्ती नजिकै आइपुगेको छ,’ उनले भने । राईको एक बिघा जमिनमा धान र मकै खेतीसँगै गाईभैँसी पालन हुँदै आएको छ । तर तीन महिनादेखि नै कटान तीव्र भएपछि स्थानीयवासी सुरक्षा निकायसँग मिलेर बालुवा र सिमेन्टका बोरा राख्दै अस्थायी तटबन्ध निर्माण गरिरहेका छन् ।
सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटान नियन्त्रणका लागि बनाइएका करिब १८ स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् । बाँकी संरचना पनि जोखिममा छन् । उनका अनुसार चिलिया टप्पु र श्रीलंका टप्पुका बस्तीमा जोखिम वर्षेनि बढिरहेको छ ।
यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६०० घरपरिवार उच्च जोखिममा छन् । केही दिनअघि २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो भने केही परिवार अझै चौरमा टहरा बनाएर बसिरहेका छन् । कटानले स्थानीयको जीविकोपार्जनसमेत प्रभावित भएको छ । बराहक्षेत्र–६ का राकेशकुमार महतोको करिब चार बिघा जमिन कोशीले बगाएपछि अहिले उनी अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।
‘पहिला चार बिघा जग्गा थियो । सबै कोशीले लग्यो । अहिले आफ्नो जग्गा छैन,’ उनले भने, ‘बसिरहेको यो सानो घर पनि कुन दिन कोशीले बगाएर लैजाला भन्ने डर छ ।’
बराहक्षेत्र नगरपालिकाले कटान नियन्त्रणका लागि जेसिबी, ट्याक्टर, जाली, बोरा, सिमेन्टलगायत सामग्री उपलब्ध गराएर स्थानीय र सुरक्षा निकायसँगको समन्वयमा काम गरिरहेको जनाएको छ । कटानबाट विस्थापित परिवारलाई नगरपालिकाले तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँसमेत उपलब्ध गराएको छ ।
नगरप्रमुख रमेश कार्कीका अनुसार कोशी कटान स्थानीय तहको सीमित स्रोतसाधनले मात्र समाधान गर्न सकिने विषय होइन । ‘कोशीको कटान यहाँको मात्र समस्या नभई राष्ट्रिय सरोकारको विषय हो,’ उनले भने, ‘वैज्ञानिक अध्ययनका आधारमा ड्याम, स्परलगायत दीर्घकालीन संरचना निर्माण गर्न आवश्यक छ ।’
उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले पनि तल्लोतटीय क्षेत्रमा नदीको धार पश्चिमतर्फ मोडिँदै गएकाले जोखिम बढेको बताए । लगातारको कटानका कारण श्रीलंका टप्पुका केही परिवार प्रकाशपुर र झापातर्फ बसाइँ सरिसकेका छन् । करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा अधिकांश परिवार कृषि तथा पशुपालनमा निर्भर छन् ।
बर्खा हरेक वर्ष आउँछ, कोशीको बहाव बढ्छ र स्थानीयको त्रास पनि दोहोरिन्छ । अस्थायी तटबन्ध र श्रमदानले तत्काल केही राहत दिए पनि नदीले बर्सेनि बगाउँदै लगेको जमिन र विस्थापित हुँदै गएका परिवारका लागि दीर्घकालीन समाधान अझै टाढै छ ।
हरेक साल बर्खा लाग्यो कि चिन्ताग्रस्त भएर स्थानीय बाँच्नुपरे पनि सरकारको कोशी नदीको दीर्घकालीन समाधानका योजना नदेखेर स्थानीय चिन्तित छन् ।
देशकै ठूलो नदी व्यवस्थापनका लागि स्थानीय सरकारको पहुँच पुग्न नसक्ने र सङ्घको ध्यानाकर्षण नभएको स्थानीयको आरोप छ ।
उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोशी आसपासका ठाउँबाट धेरै जना मन्त्री बनिसकेर पनि स्थायी समाधानका लागि कसैले ठोस कदम नचालेको उनीहरुको आरोप छ ।
















Discussion about this post