इटहरी : झन्डै तीन बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता छन् ।
इटहरी वडा नं. ४ को गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको शव अझै भेटिएको छैन । आशा र राजकुमार श्रीमान–श्रीमती हुन् भने निमेष छोरा । आशा र राजकुमारकोमा पाहुना गएकी सानुमाया राईं छ घण्टा बगेर बच्न सफल भइन् । उनको त्यो घटना सम्झदा अहिले पनि आङ् नै सिरिङ् हुन्छ ।
उनलाईं दिदी आशा, भिनाजु राजकुमार र निमेषसँगै बाढीले बगाएको थियो । सानुमायालाई बाढीले त बगायो, बच्न उपाय केही थिएन । पौडी खेल्न उनलाई कहिल्यै आउँदैनथ्यो । अरुले भनेको सुनेकी थिइन्, ‘पौडिदाँ हात र खट्टा निरन्तर चलाउनुपर्छ ।’ त्यसरी नै निरन्तर हात र खुट्टा चलाई रहिन् । सानुलाई बाढीले १० किलोमिटरभन्दा बढी बगाएपछि स्थानीयले सकुसल उद्दार गरे । उनले नयाँ पुर्नजीवन पाइन् ।
उनी त्यो घटना सम्झदै भन्छिन्, ‘दिउँसै बाढी आएको हल्लाले गर्दा राति निन्द्रा लागेको थिएन, अरु भने सुति सक्नुभएको थियो ।’ उनका अनुसार राति झ्यालको उज्यालोले सुतेको खटिया मुनीसम्म पानी आएको देखिन् अनि कराइन् । उनले जोडले कराएपछि दिदी–भिनाजुसँगै अरु भाईबहिनी उठे ।
बाहिर निस्कन लाग्दा दिदी आशादेवी राईं र भिनाजु राजकुमार राईंलाई खोलाले बगायो । दिदी भिनाजुका दुई जना छोराछोरीलाई पनि बगायो । तर, गाउँलेले केही बेरमै उद्दार गरे । त्यही बेला उनलाई पनि खोलाले बगायो । सानुले निरन्तर हात–खुट्टा चलाइन् । बीच बीचमा ठूला ठूला झाडी र रुखमा उनी ठोकिने गर्थिन् । घरीघरी उनलाई बाढीले भित्र पसाउन्थ्यो त घरीघरी बाहिर निकाल्थ्यो । उनले आँखा नहेरीकन निरन्तर संघर्ष गरिरहिन् ।
दुहवीमा बिहानको चार बजेतिर एउटा रुख नदीमा लडेर तेर्सिएको भेटिन् । त्यही रुखको हागा समातेर बसेकी थिइन् । स्थानीय उद्दारकर्ताले उनलाई उद्दार गरे ।

बर्सेनी बर्खायामा सुरु हुनासाथ त्यही घटनाले पिरोल्न थाल्छ इटहरी ४ गैह्रीगाउँका स्थानीयबासीलाई । ‘पोहोर साल त घरमा क्षती भएन,’ स्थानीय मञ्जु साफीले टाकुरासँग भनिन्, ‘अब दुई तीन महिना त त्रास हुन्छ, तीन महिना रातभर जागेर बस्नुपर्छ ।’
स्थानीय सरकारले यसको दीर्घकालीन समाधान नगर्दा समस्या ज्यूँ को त्यूँ रहेको उनको तर्क थियो । ‘अहिले पनि संकट नै छ, भदौ महिना सकिएपछि मात्र ढुक्क हुन्छ ।’ उनले आफ्नो बेदना सुनाईन् ।
मञ्जु त यहाँकी एक प्रतिनिधि पात्र मात्र हुन् । बर्खा लाग्नासाथ इटहरी ४ गैह्रीगाउँका करीब तीन सय घरपरिवारलाई बाढीले बगाउँने हो कि भन्ने चिन्ताले सताउँछ ।
स्थानीय राजकुमार भुजेल भन्छन्, ‘जहिल्यै पनि साउनमा बाढी आउँछ, केही न केही क्षती गरेरै जान्छ ।’ यहाँका अधिक घरपरिवार मजदूरी नै गरेर जीविकोपार्जन गर्ने भएकाले अन्नबालीमा पनि बाढीले क्षती पुर्याउने उनले बताए । उनले टाकुरान्यूजसँग भने, ‘पोहोर त मेरो केरा खेतीमा पनि क्षती गर्यो, पशुपंक्षीमा पनि बाढीले क्षति गर्ने गरेको छ, यसबारेमा हाम्रो गुनासो सुनिदिने कोहीपनि छैन ।’
यसपटक भने स्थानीय सरकारले केही क्षेत्रमा तटबन्धन बाँधेकाले रोकथाम हुने झिनो आशा उनको मनमा छ । ‘नेताहरुले यहाँको मिसगिटी सबै ट्याक्टरमा हालेर लगेको कारण यहाँ बाढी पस्ने गरेको छ,’ उनले भने, ‘करीब १३ बर्ष अगाडि त खोला ठूलो थियो, अहिले त स्थानीय मानिसहरुले पनि खोला मिचेका कारण सानो भएकाले गाउँमा बाढी पसेको हो ।’

सुनसरी र मोरङलाई छोएर बग्ने स्थानीय बुढीखोलामा बाढी आउँदा स्थानीय मानिस त्रासमा बस्न बाध्य भएको बताउँछिन् गीता भुजेल । उनले स्थानीय मानिस र आर्यघाटले पनि खोलामा बनाएकाले खोला मिचिएकाले गाउँमा बाढी पस्ने गरेको सुनाईन् ।
’आर्यघाटले खोला साँगुरिएको छ, खोलो मिचेर कुलो जत्रो भएको छ’ उनले भनिन्, ‘पानी फिँजारिएर बग्न पाउँदैन, बग्न नपाएपछि गाउँ डुबाउँछ ।’ बाढीका कारण इटहरीको ४ नं. क्षेत्र प्रत्यक्ष रुपमा बर्षेनी प्रभाजमा पर्दै आएको छ ।
तर, जनप्रतिनिधिले सोचे अनुसार बाढी पीडितका निम्ति फिटिक्कै काम नगरेकोले गर्दा बाढी पीडित बढी नै पिरोलिएका छन् ।
०७४ साउन २७ गते राति आएको बाढीले गर्दा इटहरीका चारवटा वडा तहसनहस पारेको थियो । बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो ।
बाढी पीडितले सरकारी सहयोग बिनै घर निर्माण गर्दै बसोबास गर्दै आएका छन् ।
यता, इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले भने आँफूहरुले बर्षेनी रुपमा तटबन्धनको काम गरिराखेको प्रतिक्रिया दिए । उनले भने, ‘थोरै पैसा आउँछ, थोरै काम गर्नुपर्छ, सामान्य बाढी आउँदा त त्यस्तो खतरा हुँदैन ।’
उनले आगामी बर्षका लागि पनि तटबन्धनको काम हुने भएको बताउँदै भने, ‘त्यहाँ अहिले बाँस पनि रोपेका कारण समस्या नहोला कि भन्ने हो, तर माथिबाटै पानी ओभरफ्लो भएर आउँदा त गाह्रो छ ।’












Discussion about this post