इटहरी : इटहरी ५ मा रहेको पर्यटकीय गन्तव्य काव्यबाटिकामा वडा कार्यालयको भवन बन्ने विषयलाई लिएर केही व्यक्तिहरुबीच अहिले पनि तीक्तता रहेकाले बुधबार इटहरीमा यहाँका सरोकारवालाहरुको बैठक बसिएको छ ।
इटहरी मेट्रिक्समा बुधबार बसिएको बैठकले संरक्षण सरोकार समूह गठन समेत गरिएको छ । अग्रज पत्रकार तथा साहित्यकार सुविद गुरागाईको संयोजकत्वमा उक्त समूह गठन गरिएको हो । बीचमा समूहलाई पूर्णता दिनेगरी बैठक बस्नेगरी गुरागाईको संयोजकत्वमा समूह गठन गरिएको हो ।
२०६० सालमा कलाकारहरुले मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य शिविर जस्ता कार्यक्रम सँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले स्थापना भएको काव्यबाटिका हाल विवादमा रहेको छ । केही सीमित व्यक्तिहरुको स्वार्थका लागि वडा कार्यालयको भवन बन्ने विषयलाई लिएर अहिले विवाद सिर्जना भएको हो ।
काव्यबाटिकाका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार बिक्रम श्री ले आफूलाई लान्छना लगाएको सम्झदैँ त्यस समयमा प्रतिकुलता भएपनि अनुकूलताको खोजीतर्फ लागेको बताए ।
उनले भने, ‘कला साहित्यका लागि ठूलो लगानी मेरो व्यक्तिगत भएपनि अहिले केही व्यक्तिवादीका कारण समस्या उत्पन्न भएको छ ।’ उनले जनप्रतिनिधि आन्तरिक मिलेमतोमा लागेको आरोप लगाए ।
‘काव्यचेतना नभएकाले नेतृत्व गर्नुको दुष्परिणाम अहिले स्रष्टाहरुले भोगिरहेका छन्,’ उनले भने । पर्यटकीय विकास सँगै श्रष्टाहरुको भेला गर्ने ठाउँको रुपमा विकसित गर्ने उदेश्यले काव्यबाटिका स्थापना भएपनि अहिले समस्या भइरहेको उनले बताए ।
अग्रज पत्रकार तथा साहित्यकार कृष्णबिनोद लम्सालले काव्यचेतनाका कुरा हुने ठाउँमा फनपार्क निर्माण हुने कुरा बाहिर आउनु अनुचित रहेको तर्क गरे । ‘यत्रो समय के हेरेर बसेका थियौ ?’ भन्ने प्रश्न उठिरहेको समयमा जनप्रतिनिधिले असहयोग गरेको बताउँदै उनले अहिले यहाँ रुख काटिनुले आफूहरुको मनमा आघात पुगेको उनले बताए ।
यहाँका स्रष्टाहरु एक भएर काव्यबाटिका बचाउ अभियान सन्चालन गर्न आवश्यक रहेको बताउँदै कृति र प्रकृतिको संगमस्थल बनाइनुपर्ने योजना अघि सार्नुपर्ने उनको भनाइ थियो ।
काव्यबाटिका संरक्षण सरोकार समूहका संयोजक तथा पत्रकार सुविद गुरागाइइले विभिन्न मानिसले उक्त क्षेत्र विकासका लागि समय व्यतीत गरेपनि अहिले विचित्र अवस्थामा पुगेको उदृत गरे ।
‘केही कुण्ठित व्यक्तिहरुको कारण यहाँको नागरिक समाज र कविलाई यसले छुन छोडेको छ,’ उनले टाकुरासँग भने, ‘अहिले त कवि, कलाकारको संवेदना नै मरेको जस्तो अवस्था भइसक्यो, यसलाई सबै मिलेर जोगाउन आवश्यक छ ।’
स्थानीय तारा पोखरेल, सुष्मा तिम्सिना लगायतले व्यक्तिगत स्वार्थका लागि भू माफियाहरु सक्रिय रहेकाले सचेत हुने समय आएको तर्क गरे ।
नियतवश रुपमा कलाकर्मीमाथि आक्रमण भइरहेकाले यस क्षेत्रमा काव्यिक कार्यक्रमलाई तीब्रता दिन आवश्यक रहेको उनीहरुको भनाई थियो ।
Discussion about this post