इटहरी : इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा विराटनगर महानगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा धनकुटा नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
विराटनगरको जीतमा भुवन बस्नेत एक्लैले २ गोल गरे । उनले खेलको ७२ औँ र ८८ औँ मिनेटमा गोल गरेका थिए । अर्को एक गोल विजय पोखरेलले खेलको ८३ औँ मिनेटमा गरेका थिए । धनकुटाका लागि एक मात्र सान्त्वना गोल दीपेन शाक्यले खेलको ७६ औँ मिनेटमा गरे ।
उक्त खेलको म्यान अफ द म्याच २ गोल गरेका बस्नेत नै घोषित भए । विराटनगरले महानगरपालिकाले अब सेमिफाइनलमा चैत्र १९ गते धरान उपमहानगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।
इटहरी स्थित क्षेत्रीय रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इनरुवा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ का ८ वटा नगरपालिकाका टिम सहभागी रहेका थिए । प्रतियोगिताको विजेता टिमले दुई लाख र उपविजेताले एक लाख पाउनेछन् ।
यो पनि – गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : इनरुवा सेमिफाइनलमा
यो पनि — गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : धरान सेमिफाइनलमा
Discussion about this post