झापा : बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने रोजगार मेलामार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन्।
बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजित मेलामा एक हजार ७६ जनाले विभिन्न रोजगारदातासमक्ष आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक चरणमै एक सय ६४ जना रोजगारीमा छनोट भएको आयोजकले जनाएको छ।
मेलामा २५ वटा रोजगारदाता संस्था सहभागी भएका थिए। दुई दिनको अवधिमा २ हजार ८ सय ७१ जनाले मेलाको अवलोकन गरेका थिए। बाँकी आवेदकलाई उनीहरूको योग्यता र सीपअनुसार विभिन्न संस्थासँग समन्वय गरेर रोजगारीमा जोड्ने प्रक्रिया अगाडि बढाइने बताइएको छ।
कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइन्। उनले रोजगार सिर्जनालाई नगरपालिकाको प्राथमिकतामा राखिने र यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिइन्।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले मेलाले स्थानीय श्रम बजार र रोजगारदाताबीचको दूरी घटाउन सहयोग पुगेको बताए।
नगरपालिकाले पहिलो पटक आयोजना गरेको रोजगार मेलाले अपेक्षाभन्दा राम्रो नतिजा दिएको भन्दै आयोजकले यसलाई आगामी वर्ष थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ।












Discussion about this post