इटहरी : उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा कठीन रुपमा गुज्रिररहेको छ दिनचर्या । इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित भागलपुरमा बसोबास गर्दै आएका २८ वर्षीय सुरज मगरको वेदना हो यो ।
सुरजकी श्रीमती चन्द्रकला मगरका अनुसार उनको शरीरमा सुरुमा सानो घाउको फोका निस्किएको र पछि त्यही घाउ ठूलो हुने, पाक्ने र शरीरभरी फैलिने गरेकाले अहिले छालाको क्यान्सर भएको हो ।
‘आर्थिक अवस्था कमजोर भएका कारण राम्ररी उपचार पनि गर्न पाइएन,’ उनले भनिन्, ‘केही समयअघि नोबेल अस्पतालमा दश दिनसम्म उपचार गरेर राखिएपनि स्वास्थ्यमा सुधार नहुँदा अहिले झनै समस्या थपिएको छ ।’
उपचार गरेपनि स्वास्थ्यमा सुधार नआउँदा आफूहरु विक्षिप्त बनेको उनको आँखामा झल्किन्थ्यो । अहिले कोरोना महामारीले औषधी उपचार समेत गर्न नपाउँदा स्वास्थ्य कमजोर बनेसँगै आर्थिक स्थिति पनि धराशयी बनेको उनले बताइन् ।
‘समयमै उपचार गर्न पाएको भए श्रीमानलाई बचाउन सकिन्छ कि भन्ने आशा थियो,’ उनले अगाडि थपिन्, ‘काखीमा सात महिनाकी छोरी र अर्की नौ वर्षकी छोरी छन्, यीनिहरुको पढाईमा पनि समस्या छ, आर्थिक अवस्था कमजोर भएकाले निकै गाह्रो स्थिति छ ।’
आर्थिक अवस्था कमजोर भएपछि स्थानीय र माइतीको शरणमा बस्नुपरेको उनको भनाइ थियो ।
स्थानीय सजना तामाङले मगर परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग जुटाइदिन अपिल गरेपनि हालसम्म कतैबाट सहयोग उपलब्ध नहुँदा समस्या थपिदैँ गएको बताइन् । उनले भनिन्, ‘हामी वडामा पनि सहयोगका लागि गएका थियौँ, तर उहाँहरुले मगर परिवारलाई यहाँको बासिन्दा नै होइन हामी केही सहयोग गर्न सक्दैनौ भन्नुभयो ।’
समस्या परेका बेला स्थानीय सरकार र अन्य सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको तर्क थियो ।
यता, वडा सचिव रवि सुवेदीले भने पीडित परिवारले सहयोग मागेमा आफूले व्यक्तिगत रुपमै भएपनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शरीर स्वस्थ हुँदा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मगर परिवारले अहिले एकातिर स्वास्थ्य अवस्था कमजोर र अर्कोतिर लकडाउनका कारण पीडामा रात काट्नुपरेको छ । यस्तो अवस्थामा स्थानीय सरकार र सरोकारवालाले आर्थिक एवम् मानवीय सहयोग गरेमा केही हदसम्म भएपनि पीडित परिवारको घाउमा मल्हमपट्टी हुने अनुमान गर्न सकिन्छ ।
Discussion about this post