इटहरी : यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोशी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको छ ।
यातायात कार्यालयका कर्मचारी कमिसन, भ्रष्टाचार र दलालीमा बिक्ने गरेको यसअघि पटक–पटक समाचारहरु बाहिरिदैँ आएका छन् । यसैबीच लकडाउनकै समयमा घरभाडा सम्झौताको म्याद अगावै एक सूचना जारी गरेर घरभाडा सार्ने तयारी गरिएको हो ।
यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतमको ‘सेटिङ’ मा हाल इटहरी २ मा बस्दै आएको कार्यालय लकडाउन अवधीमै इटहरी ८ मा सार्ने तयारी गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । विवादित कर्मचारीको छवि बनाएका गौतमले यहाँ बस्दै आएको भवनबाट कमिसनको ‘सेटिङ’ मिलाउन नसकेका कारण सम्झौता अगावै कार्यालय सार्ने तयारी गरिएको स्रोतले बताएको छ ।
बढीमा घरभाडा सम्झौता गर्ने र कम रकम दिने गर्ने र त्यो ‘सेटिङ’ नमिल्दा कार्यालय सार्न लागेको खुलेको छ । बाँकी रकम आफ्नो गोजीमा पार्ने गरेको स्रोतको दाबी छ ।
करीब एक महिना अघि नै घरभाडा सम्बन्धी सूचना निकाल्नुपर्ने व्यवस्था भएपनि यातायात व्यवस्था विभागले जेठ ११ गते सूचना जारी गर्दै १५ दिनभित्र शिलबन्दी दरखास्त उपलब्ध गराउन भनेको छ ।
भाडाको घर कस्तो हुनुपर्छ भन्ने विषयमा विस्तृत रुपमा उल्लेख गरी सूचना प्रकाशित गरिएको छ । इटहरी चौकबाट करीब दुई किलोमिटर आसपास, महेन्द्र र कोशी राजमार्गमा नपर्ने, ८ कठ्ठा क्षेत्रफल जग्गामा घेराबारा लागेको पार्किङको सुविधा हुनुपर्ने जस्ता माग राखेर सूचना प्रकाशित गरिएको छ ।
पहिल्यै घरको टुंगो लागेपछि सूचना प्रकाशित गरिएको समेत खुलेको छ । हाल बस्दै आएको दिनेश भट्टराईको घरमा कार्यालय राख्ने असोजसम्मको सम्झौता थियो । तर, चार महिना अगावै कार्यालय सारिनुले कमिसनमा ‘सेटिङ’ नमिलेको बुझिन्छ ।
‘०७१ सालदेखि कार्यालय यहाँ बसेको हो, दुई–दुई वर्षमा नवीकरण गरेर घरभाडा समेत बढाउने सम्झौता भएको थियो,’ घरधनी भट्टराईले टाकुरासँग भने, ‘पछिल्लो पटक ७६ असोज १ गतेदेखि दुई वर्षका लागि सम्झौता भएको थियो, तर अहिले घरधनीलाई एकपटक पनि नसोधी कार्यालय सार्ने तयारी गरिएछ ।’
हाल इटहरी ८ मा सार्न लागिएको भवनले निर्माण इजाजत नै नलिएको उनको खुलासा छ । ‘मलाई एकपटक खबर नै नगरी सरकारी कार्यालय सारिनु कतिसम्मको जिम्मेवारी छ भन्ने स्पष्ट छ,’ उनले भने, ‘निर्माण इजाजत नै नलिकन निर्माण भएको टहरामा कार्यालय राखिनु गलत कदम हो ।’ उनका अनुसार कार्यालयले हाल मासिक एक लाख १४ हजार रुपैँया घरभाडा तिर्दै आएको छ ।
आफ्नै भवन निर्माणाधीन
कार्यालयको इटहरी १० मा आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको छ । आगामी पुष मसान्तसम्ममा काम सक्नेगरी धमाधम काम भइरहेको छ । तर, आफ्नै भवन निर्माणधीन अवस्थामा रहेपनि लकडाउन अवधीकै बीचमा सम्झौता सकिनुपूर्व नै घरभाडा सार्ने सूचना गर्नु यातायात व्यवस्था विभाग भ्रष्टाचारमा लिप्त भएको स्रोतको भनाई छ ।
आफ्नै भवन तयारी अवस्थामा रहेको समयमा कमिसनको ‘सेटिङ’ मा कार्यालय सार्न खोजिनु अनैतिक काम रहेको स्रोत बताउँछ ।
यता, यातायात व्यवस्था विभागका क्षेत्रीय निर्देशक भीम गौतमसँग यस विषयमा प्रतिक्रिया लिदाँ उनले आफ्नो कार्यक्षेत्र नरहेको भन्दै पन्छिने काम गरे । ‘६ लेन सडक निर्माण भएकाले पार्किङको सुविधा छैन, त्यसैले कार्यालय सारिनुपर्छ भनेर पहिल्यैदेखि कुरा उठेको हो,’ गौतमले पन्छिदैँ भने, ‘यो विषयमा ‘हाकिम साब’ ले सूचना निकाल्नुभएको हो, उहाँलाई बढी थाहा हुन्छ ।’
यता, कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले भने नयाँ घरभाडाका लागि सूचना प्रकाशित गरिएको स्वीकार गर्दै भने, ‘पार्किङस्थल र सडकका कारण सानुपर्ने बाध्यता आइपरेको हो, यहाँ जटिल समस्या थियो ।’ उनले सेवा चालू भएपछि कार्यालय सार्न कठिन हुने भएकाले अहिले सेवाग्राहीको काममा समस्या नहुने तर्क गर्दै सूचना प्रकाशित गरिएको बताए ।
‘हालसम्म कोहीसँग सम्झौता भएको छैन, जो कोहीले पनि मापदण्डअनुसार दरखास्त दिन सक्नुहुन्छ,’ घर खोजिसकेर सूचना निकालियो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले टाकुरासँग भने, ‘हामीले मागेको समयमा कसैले दरखास्त नगरे पुनः सूचना जारी गर्नुपर्ने हुनसक्छ, अहिले सडकमा दुर्घटना समेत बढेको अवस्था छ, त्यसैले सार्ने तयारी गरिएको हो ।’
कार्यालयको निर्माणाधीन भवन बन्न झण्डै डेढ वर्ष लाग्ने भएको र यहाँ पार्किङ समस्याका कारण दुर्घटना बढेकाले कार्यालय सार्ने सूचना प्रकाशन गरिएको सापकोटाले बताए ।
Discussion about this post