मोरङ : जिल्ला अदालत मोरङले उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका मुख्य अभियुक्त राजेश रणपहेलीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
मङ्गलबार न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय रणपहेलीलाई थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए ।
रणपहेली गत बिहीबार पक्राउ परेका थिए । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेस गरेको थियो । कर्तव्य ज्यान मुद्दामा थुनछेक बहस सकिएपछि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आफ्ना साथीहरू भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शङ्कास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो ।
मुद्दामा रणपहेलीसहित झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी–६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये गिरी र राई धरौटीमा छुटेका छन् । पौडेल चोरी मुद्दामा इलाका प्रहरी कार्यालय दमकमा छन् ।











Discussion about this post