इटहरी (डेस्क) : विराटनगरमा कोरोनाका कारण आमाछोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ३ मा ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो ।
वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
बुधबार राति मृत्यु भएकी आमालाई घाटमा अन्त्येष्टिका लागि कान्छा छोराले लिएर गएका थिए । आमाको अन्त्येष्टि नसकिँदै उनका ४२ वर्षे दाजुको पनि मृत्यु भयो ।
कोरोनाका कारण वृद्धा महिलाको मृत्यु हुँदा ४२ वर्षे छोरा गम्भीर अवस्थामा उपचाररत थिए । आमाको अन्त्येष्टिका लागि कान्छा छोराले घाटमा चिता तयार पारे । शव व्यवस्थापनमा खटिएको टोलीले लगेर चितामाथि शव राखिदियो । छोराले दागवत्ती दिन नपाउँदै अस्पतालबाट दाजुको मृत्यु भएको खबर पुग्यो । आमालाई दागवत्ती दिएर छोरा फेरि अस्पताल पुगे ।
विराटनगर अस्पतालका लेखा अधिकृत सुवास पोखरेलका अनुसार उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएकी वृद्धा महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । वृद्धाको मधुमेह सम्बन्धी पुरानै समस्या थियो । पोखरेलका अनुसार गम्भीर अवस्थामा वैशाख २३ गते अस्पताल भर्ना भएका ४२ वर्षीय छोराको अक्सिजन सपोर्टमा उपचारका क्रममा मृत्यु भएको हो ।
आमाको मृत्युले भावविह्वल बनेका छोरा लगत्तै दाजु पनि गुमाएको खबर सुनेर अस्पताल पुग्दा सम्हालिन सकिरहेका थिएनन् । उनका दाजुको गत वर्ष मात्रै मृगौला प्रत्यारोपण गरिएको थियो ।
एकै पटक दुई अभिभावक गुमाउनु पर्दा उनी बोल्न सक्ने अवस्थामा थिएनन् । उनका वृद्ध बुवा होमआइसोलेसनमा कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका बुवालाई स्वास्थ्य अवस्था सामान्य भएकाले घरमै राखिएको हो ।
एकै परिवारका आमाछोराको कोरोनाका कारण मृत्यु भएको खबर पाउँदा वडाध्यक्ष विनोदकुमार बस्नेत आफ्नी सङ्क्रमित आमाको उपचारका लागि रगतको जोहो गर्दै थिए । वडाध्यक्षकी ७५ वर्षीया आमा विराट शिक्षण अस्पतालमा उपचाररत छिन् ।
‘एउटा परिवारमा मृत्यु भएकी आमाको शव जल्न नपाउँदै कोरोना सङ्क्रमित छोराको पनि मृत्यु भयो,’ वडाध्यक्ष बस्नेतले भने, ‘ पीडित परिवारमा यहाँभन्दा ठूलो बज्रपात पर्ने अरु कुनै ठाउँ नै छैन ।’
कोसी अनलाइनको सहयोगमा ।















Discussion about this post