इटहरी (डेस्क) : सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे दमक नगरपालिका ५ घर भई शिवसताक्षी नगरपालिका ९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।
मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बूलाई रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका ८ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय बिमल भुजेल र धरान १५ का ४१ वर्षीय आईतराज लिम्बूलाई तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी सहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post