इटहरी : इटहरीबाट लागूऔषध खैरोहिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार प्रहरीले शनिबार इटहरीका भिन्नाभिन्नै ठाउँबाट लागूऔषध खैरोहिरोइन सहित चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी ८ बस्ने २५ वर्षीय माइकल भनिने शम्भु कार्की र इटहरी ५ बस्ने २० वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।
उनीहरुले शनिबार दिउँसो ४ बजेको समयमा प्र. १–०२–०४२ प ७२९७ नम्बरको मोटरसाइकल प्रयोग गरी अवैध लागूऔषध खैरोहिरोइनको कारोबार गर्दै गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले २१ ग्राम खैरोहिरोइनसहित नगद ३१ हजार ६ सय रुपैँया समेत बरामद गरेको उनले बताए । त्यस्तै, विभिन्न कम्पनीको तीन थान मोबाइल, सुन जस्तै देखिने पहेँलो धातू ४३.९० तौल भएको औँठी एक थान बरामद गरेको छ ।
त्यस्तै, हर्कमाया थापा नाम गरेको एनएमबी बैँकको खाली चेक, शम्भु कार्कीको नाम गरेको सवारी चालक अनुमति पत्र समेत बरामद गरिएको डीएसपी केसीले जानकारी दिए ।
त्यस्तै, शनिबार दिउँसो नै इटहरी १ बाट शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा एकजनालाई खैरोहिरोइनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा इटहरी ५ बस्ने २१ वर्षीय सनम राई रहेका छन् ।

उनले हातमा बोकेको सेतो प्लाष्टिकको प्याकेटभित्र कालो प्लाष्टिकले बेरेको अवस्थामा एक सय मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।
पक्राउ परेका चारैजनामाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । शनिबार पक्राउ परेपनि म्याद थप गरी आइतबार अबेला मात्रै प्रहरीले उनीहरुबारे सार्वजनिक गरेको थियो ।












Discussion about this post