इटहरी : अन्ततः यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र कोशी, इटहरीको कार्यालय सरेको छ । सूचना प्रकाशित गर्नुपूर्व नै भवन खोजिसकेको र सूचना प्रकाशित भएको झण्डै डेढ महिनापछि बिहीबार कार्यालय सरेको हो ।
कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार बिहीबार इटहरी ८ मा रहेको रोहित चौधरी लगायतको जग्गामा बनेको भवनमा कार्यालय सरेको हो । कार्यालयको भवन सरेको हो भन्ने प्रश्नमा उनले छोटो जवाफ दिदैँ भने, ‘हो, बाँकी कुरा कार्यालयमै आएर लिनुहोला ।’
सूचना प्रकाशितपछि कतिवटा शिलबन्दी दरखास्त उपलब्ध भयो भन्ने प्रश्नमा उनले आफूले फोन सम्र्पकमा नभन्ने भन्दै र कार्यालयमै आएर सूचना लिनु भन्दै पन्छिने काम गरे ।
हाल इटहरी २ मा रहेको भवनको घरभाडा सम्झौता अगावै बिहीबार इटहरी ८ को एक भवनमा कार्यालय सारिएको हो ।
कार्यालयले गत जेठ ११ गते एक सूचना जारी गर्दै १५ दिनभित्र शिलबन्दी दरखास्त उपलब्ध गराउन भनेको थियो ।
यातायात कार्यालयले हाल रहेको भवनमा अव्यवस्थित पार्किङ भएकाले दुर्घटना बढेको कारण देखाउँदै भवन सारेको हो ।
हाल इटहरी २ मा रहेको दिनेश भट्टराईको घरमा पछिल्लोपटक ०७६ असोज १ देखि लागू हुनेगरी दुईवर्षको सम्झौता भएको थियो ।आगामी भदौ मसान्तसम्मका लागि सम्झौता भएपनि दुई महिना बाँकी रहँदै बिहीबार कार्यालय सारिएको हो ।
कार्यालयको इटहरी १० मा आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको छ । आगामी पुष मसान्तसम्ममा काम सक्नेगरी सम्झौता भएपनि भवन निर्माणको ठेक्का लिएको हुनमान कन्ट्रक्सनले गत जेठ ३० गते यातायात कार्यालयलाई एक पत्र उपलब्ध गराउँदै भवन बनिसक्न अरु डेढ वर्ष लाग्ने जनाएको थियो ।














Discussion about this post