धरान : धरान उपमहानगरपालिका वडा नं. १ को आफ्नै वडा कार्यालय भवन बन्ने भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच मेयर तिलक राईको अध्यक्षतामा १ नं. प्रदेशसभाका प्रतिपक्ष दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले वडा कार्यालय भवनको शिल्यानास गरेका हुन् ।
शिल्यानास कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले नगरपालिकाको विकासमा नागरिकको ठूलो भूमिका रहेको बताइन् । उपमहानगरपालिकाले जनतालाई सुविधा दिनका लागि चेक हस्तान्तरण, राजस्व लगायत कार्य वडाबाटै सुरु गरिएको उपमेयर भण्डारीले बताइन् ।
मेयर राईले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताए । क्षयरोग कार्यालय भवनलाई समेत व्यवस्था गर्नेगरी वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर राईले बताए । जिल्ला समन्वय समितिबाट यसअघि नै बजेट आएको भए समयमै वडा कार्यालय भवन निर्माण हुने बताउँदै मेयर राईले समयमै भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको २० वटा वडामध्ये ६ वटा वडाको भवन बन्न बाँकी रहेको जानकारी दिए ।
वडा नं. १, २, ३, ४, ११ र १२ को भवन बन्न बाँकी रहेको उनले बताए । उनका अनुसार उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी दीपादिल कन्सट्रक्सनसँग (भ्याट पि. एस र कन्टिजेन्सिस समेत) १ करोड २३ लाख ५९ हजार १ सय ७६ रुपैँया ९७ पैसामा सम्झौता भएको छ ।
उक्त वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ५० लाख रुपैँया र नगरपालिको ७३ लाख ५९ हजार १ सय ७६ रुपैँया ९७ पैसामा साढे दुईतलाको बन्नेछ । कन्सट्रक्सनसँग ०७९ वैशाख १ गतेसम्म भवन सम्पन्न गर्ने सम्झौता भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले यथाशीघ्र सवै वडामा भवन निर्माण गर्नका लागि सुझाव दिएका थिए ।
सांस्कृतिक, धार्मिक र वौद्धिकताको हिसाबले धरान धेरै अगाडि रहेको उनको तर्क छ । उनले भने, ‘पूर्वाधारको हिसाबले प्रदेशको राजधानी धरान बनाउन उत्कृष्ट थियो, तर त्यो भएन ।’















Discussion about this post