मोरङ : मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करीब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दरहरैँचा नगरपालिका ११ सलकपुर आएकी थिइन् ।
उनको विवाह सुन्दरहरैँचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी रोजिनाको आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानका परिवारले रोजिनाले कोठाभित्र आत्महत्या गरेको दाबी गरिरहेका छन् भने माइती पक्षले कुटपिट गरि हत्या भएको र आत्महत्या गरेको भन्ने बनाएको आरोप लगाइरहेका छन् ।
माइती पक्षले ईलाका प्रहरी कार्यालय बेलबारीमा उजुरीसमेत दिएका छन्, तर प्रहरी पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप कारबाही प्रक्रिया अघि बढाउने निचोडमा पुगेको छ । मृतकका श्रीमान् भने विदेशमा छन् ।
मृतक रोजिनाको शव पोष्टमार्टम गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान लगिएको छ ।
माइती पक्षका अनुसार मृतक गिरीको शरीरमा निलडाम रहेकाले हत्या गरेको आशंका गरिएको हो । प्रहरीमा समेत जाहेरी दर्ता नहुँदा घटना शंकास्पद रहने माइती पक्षको दाबी छ ।
यता, इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक सरोज खनालले भने शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रतिक्रिया दिए ।प्रहरीका अनुसार आज (मंगलबार) पोष्टमार्टम गर्ने तयारी गरिएको छ ।














Discussion about this post