न टेलिभिजन थियो, न मोबाइल फोन र इन्टरनेट । गाउँघरमा मनोरञ्जनका साधन सीमित थिए । मेला, जात्रा, धार्मिक उत्सव र बजारमा हुने सांस्कृतिक कार्यक्रम मानिसहरूका लागि मनोरञ्जनका प्रमुख अवसर थिए । त्यसमाथि नाटक मञ्चन हुने खबर फैलियो भने गाउँ–गाउँबाट मानिसहरू भेला हुन्थे । कलाकारको अभिनय, संवाद र कथामा रमाउने मात्र होइन, नाटकमार्फत समाजका नयाँ विषय बुझ्ने अवसर पनि उनीहरूले पाउँथे ।
आजको कोशी प्रदेशअन्तर्गत पर्ने पुरानो मेची र कोशी अञ्चलको नाट्य इतिहासलाई यस्तै सामाजिक परिवेशमा खोज्न सकिन्छ । धार्मिक तथा पौराणिक कथामा आधारित नाटकदेखि सामाजिक यथार्थ र राजनीतिक चेतना बोकेका प्रस्तुतिसम्म आइपुग्दा पूर्वी नेपालको रङ्गमञ्चले लामो यात्रा तय गरेको छ । धरान, विराटनगर, धनकुटा, इलाम र इटहरीजस्ता ठाउँमा नाटक मञ्चनको इतिहास भेटिन्छ ।
स्थानीय विद्यालयका प्राङ्गण, अस्थायी मञ्च, सामुदायिक भवन र सिनेमा हलसमेत नाटकका प्रदर्शनस्थल बनेका थिए ।
यो इतिहासको अर्को महत्वपूर्ण पाटो कलाकार र दर्शकको आवागमन हो । कलाकार एउटा सहरमा नाटक तयार गरेर अर्को सहरमा पुग्थे । दर्शक भने नाटक हेर्न आफ्नै गाउँबाट बजार, विद्यालय वा नजिकको सहरसम्म पुग्थे । कतिपय नाट्य टोलीले आफ्नो सिर्जना लिएर लामो यात्रा गर्थे भने कतिपय स्थानीय कलाकारले आफ्नै समुदायको कथा मञ्चमा उतार्थे ।
उपलब्ध ऐतिहासिक विवरणले यी गतिविधिका केही महत्वपूर्ण पाटा उजागर गर्छन । तर पूर्वी नेपालका हरेक सहरमा पहिलो नाटक कहिले मञ्चन भयो, कुन भारतीय टोली कुन वर्ष नेपाल आयो र कुन गाउँबाट कति दर्शक नाटक हेर्न पुगे भन्ने सम्पूर्ण विवरण स्पष्ट रुपमा कतै अभिलेख राखिएको पाइएन । मैले यो फिचर तयार गर्ने सन्दर्भमा पुराना नाट्यकर्मीहरूलाई भेट्दा वहाँहरूले पनि यस्तो हुन्थ्यो…खै कहिलेको हो ?……जस्ता अष्पष्ट सूचना मात्र दिन सक्नु भयो ।
नेपाली नाटकको प्रारम्भिक केन्द्र पूर्वी नेपालको नाट्य संस्कृतिको ऐतिहासिक पृष्ठभूमि बुझ्न भारतको दार्जिलिङलाई पनि हेर्नुपर्छ । बीसौँ शताब्दीको प्रारम्भमा दार्जिलिङ नेपाली भाषा, साहित्य र रङ्गमञ्चको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै थियो । सन् १९०९ मा धनवीर मुखियाको अगुवाइमा गोर्खा नेसनल थियट्रिकल पार्टी स्थापना भयो ।
यही संस्थाको पहलमा पहलमानसिंह स्वाँरको ‘अटलबहादुर’ नाटक मञ्चन भएको विवरण पाइन्छ । त्यसपछि ‘कजुसको धन’, ‘अबु हुसेन’ लगायत नाटक पनि प्रस्तुत गरिए । दार्जिलिङको रङ्गमञ्चमा नेपाली भाषाका साथै हिन्दी, उर्दू, बङ्गाली र अङ्ग्रेजी नाटकको समेत प्रभाव रहेको थियो ।
नेपाल र भारतबीचको सीमावर्ती क्षेत्रमा भाषा, व्यापार, पारिवारिक सम्बन्ध र सांस्कृतिक सम्पर्क निरन्तर रहँदै आएको छ । त्यसैले दार्जिलिङ र सिलिगुडीजस्ता क्षेत्रमा हुने नाटक गतिविधिले विशेष गरेर पूर्वी नेपालको झापा जिल्लालाई प्रत्यक्ष प्रभावित गरेको देखिन्छ ।
झापाका पुराना बासिन्दा, जमिन्दार, पट्वारी, मुखियाहरूले पश्चिम बंगालबाटै नाट्य टोलीहरू बोलाएर खासगरी धान घरमा भित्र्याइएसकेपछि हिउँदयाममा गाउँ–गाउँमा नाटक प्रदर्शन गराउने गर्दथे । यस्ता नाटक मञ्चन उनीहरूको प्रतिष्ठा, सामाजिक हैसियत र रवाफसँग पनि जोडेर हेर्ने गरिन्थ्यो । ।
हिन्दी नाटकदेखि नेपाली रङ्गमञ्चसम्म सुनसरीको धरानको नाट्य इतिहासले पूर्वी नेपालको रङ्गमञ्च कसरी परिवर्तन हुँदै गयो भन्ने बुझ्न मद्दत गर्छ । वि.सं. २००४ सालतिर धरानका विभिन्न स्थानमा हिन्दी नाटक मञ्चन हुने गर्थे । वि.सं. २००७ को राजनीतिक परिवर्तनपछि नेपाली नाटकले पनि स्थान पाउन थाल्यो ।
भीमनिधि तिवारी र हर्कबहादुर शाहीका नाटक मञ्चन हुने क्रम बढ्यो । धरानमा पहिलो पटक वि.सं. २००८ मा भीमनिधि तिवारीको ‘जीवनज्योति’ नाटक टिकट काटेर हेर्ने व्यवस्था गरिएको थियो । धरानमा वि.सं. २०१० देखि स्थानीय कलाकारले लेखन र निर्देशन गरेका नाटक पनि प्रदर्शन हुन थाले ।
धरानमा बाहिरबाट आएका टोलीको प्रस्तुतिमा मात्र नाटक सीमित नरहेको स्थानीय नाटक तयारी र प्रदर्शनले प्रष्ट पार्दछ । स्थानीय कलाकारले आफ्नै कथा लेख्ने, निर्देशन गर्ने र दर्शकमाझ प्रस्तुत गर्ने अभ्यास विकसित भइरहेको थियो धरानमा । वि.सं. २०२६ मा जनजागृति क्लब स्थापना भएपछि धरानको नाट्य गतिविधिले अर्को चरण प्रवेश ग¥यो । क्लबले वि.सं. २०२७ देखि धरानबाहिरका गाउँमा समेत नाटक प्रदर्शन गर्न थाल्यो । त्यसपछि धरानमा पहिलो पटक वि.सं. २०४२ तिर धनकुटाका अशेष मल्लको लेखन, निर्देशन र अभिनयमा धरानमा सडक नाटक मञ्चन भएको थियो ।
यता सुनसरीकै इटहरीमा वि.स. २०१६ सालदेखि सुरु भएको नाट्य परम्परा इटहरीको नाट्य इतिहासले धेरैलाई, विशेषगरी पछिल्लो युवा पुस्तालाई आश्चर्यमा पार्दछ । आज तीव्र सहरीकरण र व्यापारिक विस्तारका कारण विकसित भएको नयाँ सहर इटहरीमा नाटक मञ्चनको इतिहास पनि निक्कै पुरानो छ ।
नाट्यकर्मी सोनु जयन्तीका अनुसार इटहरीमा वि.सं. २०१६ देखि नाटक मञ्चन हुन थालेको थियो । वि.सं. २०३२ सम्म नियमित रूपमा नाटक मञ्चन भएको र त्यसपछि नाटक सम्बन्धी गतिविधि रोकिँदै पुनः सुरु हुँदै गएको छ । सुरुवाती दिनहरूमा इटहरीको नाटक हेर्ने ठाउँ वा साझा मञ्च भनेको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा नै थियो । विद्यालयको प्राङ्गण पनि कलाकार र दर्शकलाई जोड्ने सांस्कृतिक स्थल बनेको थियो भन्ने कुरा जनता स्कुलको मैदानमा नाटक मञ्चन हुन्थ्यो भन्ने कुराले स्पष्ट पार्दछ ।
नाट्यकर्मी जयन्तीले पुराना नाट्यकर्मीको खोजी गर्दा वि.सं. २०३५ भन्दा पहिले अभिनय, नृत्य, संगीत तथा गायन क्षेत्रमा सक्रिय ८६ जना जीवित व्यक्तिसँग सम्पर्क गरेर आफूले सुचना सङ्कलन गरेको उल्लेख गरे । उनीहरूमध्ये कतिपयले पुराना नाटकका दृश्यहरूसमेत सम्झिएका थिए । यसबाट इटहरीमा नाटकको इतिहास केही कलाकारको व्यक्तिगत सम्झनामा सीमित नराखी सामूहिक रूपमा पुनःनिर्माण गर्न सकिने सम्भावना देखिन्छ ।
पूर्वी नेपालमा विकसित भएको नाटक र नाट्य प्रदर्शन संस्कृति कसरी धनकुटाबाट धरान र विराटनगर हुँदै काठमाडौंसम्म पु¥याउँथे भन्ने कुरा रङ्गकर्मी अशेष मल्लको प्रारम्भिक नाट्य यात्राले स्पष्ट पार्छ । अशेष मल्लले धनकुटामा रहँदा साथीहरूसँग नाटक लेख्ने र मञ्चन गर्ने काम सुरु गरेका थिए ।
वि.सं. २०३१ मा नव कलाकार सांस्कृतिक समुदाय गठन भएको र वि.सं. २०३२ मा उनले लेखेको ‘तुवाँलोले ढाकेको बस्ती’ मञ्चन गरिएको थियो । प्रारम्भमा विद्यालयमा प्रदर्शन गरिएको नाटकले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि टोलीले धनकुटाबाहिर पनि प्रस्तुति दिने निर्णय गरी नाट्य टोली टोली धरान झर्यो र त्यहाँ सिनेमा हल भाडामा लिएर नाटक प्रदर्शन गरियो ।
त्यसपछि सोही नाटक विराटनगर हुँदै काठमाडौंसम्म पुगेर नाटक मञ्चन गरिएको थियो । काठमाडौंको राष्ट्रिय नाचघरमा उक्त नाटक प्रस्तुत गरिएको थियो, जसलाई राजधानीका दर्शकले पनि रुचिपूर्वक हेरेका थिए । धनकुटामा तयार भएको नाटकलाई पूर्वी नेपालका अन्य सहर र राजधानीसम्म पु¥याउने यो यात्रा नेपाली रङ्गमञ्चको इतिहासमा उल्लेखनीय मान्नुपर्दछ ।
किनकि, सधैँ राजधानीले मात्रै मोफसललाई सबै कुरा दिने र सिकाउने परम्परा र अभ्यास भएको नेपाली समाजमा पूर्वी नेपालले काठमाण्डौंलाई नाटक प्रदर्शन गरेर उदाहरण प्रस्तुत गरेको थियो ।
यसले कलाकारको यात्रा एउटा कार्यक्रमका लागि गरिएको भ्रमण थिएन भन्ने देखाउँछ । उनीहरूले आफ्नो सिर्जना नयाँ दर्शकमाझ पु¥याउँथे, नाटक प्रदर्शनबाट यात्राको खर्च जुटाउने प्रयास गर्थे र अर्को सहरमा पुगेर पुनः प्रस्तुति दिन्थे ।
धनकुटाबाट सुरु भएको नाटक धरान र विराटनगर हुँदै काठमाडौं पुग्नुले पूर्वी नेपालका सहरबीचको सांस्कृतिक सम्बन्धलाई पनि उजागर गर्छ । नाटकको केन्द्र राजधानी मात्र थिएन, स्थानीय सहरमा सिर्जना भएका नाटकले समेत राष्ट्रिय मञ्चसम्म पुग्ने बाटो खोजिरहेका थिए ।
नाटक हेर्न भोजपुर, चैनपुर र तेह्रथुमबाट पनि दर्शक नाटक टोलीको यात्रासँगै दर्शकको आवागमनको इतिहास पनि रोचक छ । अशेष मल्लको प्रारम्भिक नाट्य यात्राबारे प्रकाशित संस्मरणात्मक विवरणमा धनकुटामा नाटक मञ्चन हुँदा टाढाका गाउँबाट मानिसहरू हेर्न आएको प्रसङ्ग उल्लेख छ । भोजपुर, चैनपुर र तेह्रथुमजस्ता ठाउँबाट समेत दर्शक आएको विवरणले नाटकप्रतिको उत्सुकता स्थानीय बस्तीमा मात्र सीमित थिएन भन्ने प्रष्ट्याउँछ ।
त्यतिबेला यातायात र सञ्चारका साधन आजजस्ता सहज थिएनन् । त्यसैले टाढाको गाउँबाट नाटक हेर्न आउनु आफैँमा समय र श्रम लगानी गर्नु थियो । नाटक मञ्चन हुने खबर मौखिक विज्ञापनबाटै टाढा–टाढासम्म फैलिन्थ्यो र दर्शकहरू आफ्नो तीन–चार दिनको कामलाई व्यवस्थापन गरेर एक, दुई दिनभरि पैदल हिँडेर पनि नाटक हेर्न आउँथे ।
धनकुटामा नाटक हेर्न भोजपुर, चैनपुर र तेह्रथुमबाट दर्शक आउने गर्दथे । यसले पूर्वी नेपालको नाटक संस्कृतिमा स्थानीय सीमाभन्दा बाहिरको दर्शक सहभागिता रहेको थियो भन्नेकुरा पुष्टि हुन्छ ।
पूर्वी नेपालमा नाटकका लागि अर्काे उर्वरभूमि थियो, विराटनगर । विराटनगरमा खाट, तन्ना र कपडाबाट बनाइएका अस्थायी मञ्चमा नाटक प्रदर्शन हुन्थ्यो । यस्तो अभ्यासले विराटनगरको नाट्य इतिहासमा रङ्गमञ्चका लागि भव्य भवन आवश्यक थिएन भन्ने उदाहरण प्रस्तुत गर्दछ ।
विराटनगरमा वि.सं. २००७ सालतिर नाटक मण्डलीमार्फत हिन्दी नाटक मञ्चन हुने गर्दथे । त्यस समयमा कुमारबहादुर श्रेष्ठ, लक्ष्मीराजभक्त नेपाली, कालिका गुप्ता, धनबहादुर डंगोल र भोला श्रेष्ठलगायतका रंगकर्मीहरू नटक पर्दशन र यसको व्यवस्थापनमा खुब सक्रिय भएर लाग्दथे ।
नाटक मञ्चनको समय नजिकिँदै गर्दा कलाकारका घरबाट तन्ना र सारी हराउने गरेको विराटनगरका रङ्गकर्मी भैरव क्षेत्रीले स्मरण गरे । ती कपडालाई खाटमा बेरेर पर्दा बनाइन्थ्यो । सहिद रङ्गशाला नजिकको खाली जमिन, आदर्श विद्यालयको प्राङ्गण र मिलन चोकको पटुवाबारीमा यसरी अस्थायी मञ्च बनाएर नाटक प्रदर्शन गरिन्थ्यो । पछि बाल मन्दिरको हल, एलिट क्लब, हिमालय सिनेमा हल र वीरेन्द्र सभागृहजस्ता स्थानमा नाटक मञ्चन हुन थाले ।
त्यतिबेलाको नाटक प्रदर्शनका लागि कलाकारसँग आधुनिक प्रकाश, ध्वनि उपकरण र सुविधा सम्पन्न मञ्च उपलब्ध थिएनन् ।
तर उपलब्ध स्रोतसाधनको प्रयोग गरेर उनीहरूले दर्शकका लागि नाटक तयार गर्थे र त्यस्ता नाटक हेर्न विराटनगर आसपासको क्षेत्र सितागञ्ज, रामगञ्ज बेलगछिया, बुधनगर, सोराभाग, कर्सिया, रंगेली, दादरबैरिया, कटहरी, टैंकिसिनिवरी, जस्ता स्थानबाट दर्शकहरू आउँथे भने विराटनगरसँग पारिवारिक सम्बन्ध जोडिएका बिहार र पश्चिम बंगालका आफन्तहरूसमेत विराटनगरमा आफन्तको मेजमान आउने र नाटक हेर्ने गर्दथे ।
विराटनगरको नाट्य गतिविधिमा स्थानीय सांस्कृतिक संस्था र युवाको पनि महत्वपूर्ण योगदान थियो । वि.सं. २०३८ को वसन्त पञ्चमीका दिन विराटनगरका सक्रिय युवा रङ्गकर्मी मिलेर आरोहण नाट्य समूह स्थापना गरेका थिए ।
जसमा माधव सापकोटा, चतुर्भुज आशावादी, अभि सुवेदी, माया पौडेल, बद्री अधिकारी र सुनील पोखरेललगायत कलाकार तथा रङ्गकर्मी यस परम्परासँग जोडिएका थिए । यसले विराटनगरमा नाटकको अभ्यास अस्थायी मञ्चबाट संस्थागत रङ्गमचतर्फ अघि बढेको स्पष्ट हुन्छ ।
स्थानीय सरकारमा नेतृत्वमा पुग्नेहरूलाई सभ्य सहरका लागि कला, साहित्य, नाटक, खेलकुद, पुस्तकालय अति आवश्यक, नभई नहुने र महत्वपूर्ण छन् भन्ने जानकारी पनि छैन र महसुस पनि गर्दैनन् । जसले गर्दा आजको पुस्तालाई हिजोको बिरासत र इतिहास जोगाउने चुनौती छ । नाट्य क्षेत्रमा पनि युवा पुस्तालाई इतिहास जोगाउने गम्भीर चुनौती छ ।
पूर्वी नेपालको छिमेकी पश्चिम बंगाल, दर्जिलिड, सिक्किम, सिलिगुडिजस्ता क्षेत्रको पनि यहाँको नाट्य संस्कृति बजबुत बनाउन उल्लेख्य योगदान छ । अर्को महत्वपूर्ण उदाहरण नाटककार मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ दार्जिलिङबाट नेपालका विभिन्न मञ्चसम्म पुगेर पूर्वी नेपालको रङ्गमञ्चलाई भारतीय नेपालीभाषी क्षेत्रसँग जोडेको थियो ।
सन् १९७२ मा दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनको हलमा पहिलोपटक मञ्चन भएको यो नाटक दर्शकमाझ निकै लोकप्रिय बन्यो । दर्शकको मागका कारण केही समयपछि पुनः प्रदर्शन गरिएको थियो । नाटकमा वर्गीय शोषण, प्रेम र विवाहमाथिको हस्तक्षेप तथा जातीय विभेदजस्ता सामाजिक विषय प्रस्तुत गरिएको थियो । यस नाटकले दार्जिलिङ र वरिपरिका क्षेत्रबाहिर पनि दर्शक पाएको थियो । उक्त नाटक सिलिगुडी, मङ्पु, सलुवा, कोलकाता, कालेबुङ, सिक्किम र नेपालका विभिन्न मञ्चमा प्रदर्शन गरिएको थियो भने पछि काठमाडौंमा पनि मञ्चन भयो ।
यो उदाहरणले भारतीय नेपालीभाषी रङ्गमञ्च र नेपालको आधुनिक नाटकबीच प्रत्यक्ष सांस्कृतिक सम्बन्ध रहेको देखाउँछ । नाटकको कथा, अभिनय र सामाजिक विषयवस्तु सीमापारि पनि दर्शकमाझ पुग्न सक्थे भन्ने प्रमाणित गर्दछ ।
मेची क्षेत्रको नाट्य इतिहासमा झापा, इलाम र पाँचथरका स्थानीय कलाकार र संस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । इलामको चुलाचुलीमा स्थानीय कलाकारले तयार गरेको ‘देवांसी राजा’ नाटक दुई दिनसम्म मञ्चन भएको थियो । यसले स्थानीय कथावस्तु र समुदायका कलाकारबाट पनि नाटक निर्माण हुन्थ्यो भन्ने कुरा स्पष्ट पार्दछ ।
त्यस्तै, पाँचथरको फिदिममा वि.सं. २०५८ मा स्थापित क्षितिज नाट्य प्रतिष्ठानले सडक नाटक र मञ्चीय प्रस्तुतिको अभ्यास सुरु गरेको थियो । संस्थाले विराटनगरमा आयोजित नाट्य महोत्सवमा सहभागिता जनाएको र वि.सं. २०६४ सम्म मेची अञ्चलका विभिन्न स्थानमा संविधानसभा निर्वाचनसम्बन्धी जनचेतनामूलक १ सय २० स्थानमा सडक नाटक प्रदर्शन गरेको थियो । यो तथ्यले नाटक टोलीको यात्रा मनोरञ्जनका लागि मात्र नभई सामाजिक र राजनीतिक चेतना फैलाउन पनि प्रयोग भएको देखाउँछ ।
स्थानीय कलाकारले गाउँबस्तीमै पुगेर नाटक प्रस्तुत गर्दा दर्शकलाई टाढाको सहरमा जानुपर्ने आवश्यकता कम हुन्थ्यो । नाटक नै समुदायसम्म पुग्ने माध्यम बन्थ्यो ।
इटहरीको कलालयले भारतको पश्चिम बंगाल कृष्णनगरमा गएर नाटक प्रदर्शन गरेपछि त्यहाँको जीवनोर एकता नाट्य समूहले पनि आफ्ना कलाकारहरू लिएर इटहरी आउने, यहाँका होटलहरूमा बस्ने, नाटकको तालिममा सहभागी हुनेजस्ता गतिविधिले ‘ड्रामा टुरिजम’को स्थानीय अभ्यासलाई जनाउँदछ ।
माथि उल्लेखित विवरण र उदाहरणले मेची–कोशीको नाट्य संस्कृति, कलाकार, दर्शक, संस्थाको संयुक्त प्रयासबाट विकास भएको देखाउँछन् । तर अझै पनि नाट्य विवरणहरू समेटिएका दस्तावेज, रेकर्ड र सूचनाहरू सङ्ग्रहित र एकीकृत भने छैनन् ।
यो फिचर तयार पार्ने सम्बन्धमा मैले धेरै दस्तावेज, सूचना खोज्ने प्रयास गर्दा महसुुस गरेको कुरा र व्यक्तिहरूसँग अन्तर संवाद गर्दा पाएको जानकारीका आधारमा यो आलेख तयार गरेको हुँ । तर अझै पनि व्यवस्थित सूचना उपलब्ध नहुनु दुःखद् पक्ष छ ।
आज पूर्वी नेपालका सहरहरू तीव्र रूपमा बदलिएका छन् । पुराना विद्यालय भवन, क्लब, सिनेमा हल र सार्वजनिक मञ्चको स्वरूप फेरिएको छ । पुराना कलाकारको पुस्ता पनि क्रमशः हराउँदै गएका छन् । उनीहरूसँगै नाटकका नाम, संवाद, प्रदर्शनस्थल र दर्शकका सम्झना पनि हराउने जोखिम छ ।
स्थानीय सरकारमा नेतृत्वमा पुग्नेहरूलाई सभ्य सहरका लागि कला, साहित्य, नाटक, खेलकुद, पुस्तकालय अति आवश्यक, नभई नहुने र महत्वपूर्ण छन् भन्ने जानकारी पनि छैन र महसुस पनि गर्दैनन् । जसले गर्दा आजको पुस्तालाई हिजोको बिरासत र इतिहास जोगाउने चुनौती छ । नाट्य क्षेत्रमा पनि युवा पुस्तालाई इतिहास जोगाउने गम्भीर चुनौती छ ।
इटहरीको नाट्य इतिहास पुनः खोज्ने क्रममा पुराना कलाकारसँग सम्पर्क गरी वि.सं. २०१६ देखि २०३२ सम्मका गतिविधिबारे जानकारी संकलन गरिएको उदाहरणले मौखिक इतिहासको महत्व देखाउँछ । इटहरीका प्रजल दुलाल, सुगम दुलाल, डेभिड विष्ट लगायतका युवाहरूले इतिहास र बिरासत जोगाउने प्रयास थालेका छन् ।
यस्तै प्रयास धरान, विराटनगर, धनकुटा, भद्रपुर, दमक, इनरुवा र इलाममा पनि यदाकदा भए पनि पूर्वी नेपालको नाट्य क्षेत्रलाई थप बलियो बनाउन सबै क्षेत्रमा थप प्रयासको जरूरी छ ।
मेची–कोशीको नाट्य इतिहास गाउँबाट सहरसम्म पुगेका दर्शकको कथा पनि हो । खाटमा तन्ना बेरेर बनाइएको अस्थायी मञ्चको कथा पनि हो । धनकुटाबाट काठमाडौंसम्म नाटक बोकेर हिँड्ने टोलीको कथा पनि हो । अनि दार्जिलिङबाट नेपालका मञ्चसम्म फैलिएको नेपाली भाषाको सांस्कृतिक यात्राको कथा पनि हो ।
यी स्मृतिलाई प्रमाणसहित सङ्कलन गर्न सकियो भने पूर्वी नेपालको नाटक संस्कृति विगतको मनोरञ्जनको कथा रहनेछैन । यो क्षेत्रको सामाजिक इतिहास, भाषिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान र सामूहिक सिर्जनशीलताको महत्वपूर्ण दस्तावेज बन्नेछ ।
सहरमा सुविधा सम्पन्न थिएटर हलको निर्माण, स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कलाकारहरूको नाटक प्रदर्शन अनि गाउँ–गाउँमा स्थानीय कलाकार उत्पादन, प्रशिक्षण र नाटक प्रदशर्नको अभ्यास गरियो भने त्यसले नाटक बुझ्ने समाज, नाटक हेर्ने दर्शक, नाटक संरक्षण गर्ने सरकार र नाटक हेर्न आउने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढाउँछ । जसले अन्ततः पर्यटन प्रवद्र्वनमा योगदान पुर्याउँछ ।

















Discussion about this post