इटहरी : इटहरीका एक व्यक्तिसहित प्रहरीले तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको छुट्टा–छुट्टै स्थानबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको हो ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका ४ का २२ वर्षीय सन्तोष भुजेललाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका १७ मटेरुवाचोक स्थितमा सुनसरीको धरान उपमहानगरपालिका १४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन्दरहरैँचा नगरपालिका ५ बलियाबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका ६ का २१ वर्षीय सागर तामाङलाई पक्राउ गरेको छ ।
उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post