इटहरी : इटहरीको आइतबारे र बुधबारे हटिया व्यवस्थापन हुने भएको छ । इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाको सक्रियतामा यहाँको हटिया व्यवस्थापन हुने भएको हो ।
आइतबार र बुधबार अव्यवस्थित रूपमा हटिया लाग्दै आएकाले यसको व्यवस्थापनमा व्यापारीहरूसँग समन्वय गरेर वडाध्यक्ष थापाले सक्रियता देखाएका हुन् ।
‘सडकमा जथाभावी रूपमा हटिया लाग्दै आएको थियो,’ उनले भने, ‘अब ती व्यापारीहरूलाई दीर्घकालीन रूपमा हुनेगरी बनेका संरचनामा हटिया लगाउनेगरी तयारी अगाडि बढाएका छौँ ।’
उनका अनुसार वर्षौँ अगाडि बनेका संरचना प्रयोगबिहीन अवस्थामा रहेकाले अहिले सरसफाईको काम भइरहेको छ । उनले भने, ‘प्रयोगबिहीन अवस्थामा रहेका संरचना आसपास अहिले सरसफाईको काम भइरहेको छ, अब केही सातामै हामी व्यवस्थित रूपमा हटिया लगाउने तयारी गरेका छौँ ।’
अहिले व्यापारीहरू स्वयम्ले संरचना आसपास सरसफाईको काम गरिराखेको उनले बताए ।
पूर्व राष्ट्रिय खेलाडी समेत रहेका स्थानीय सुरेन्द्र तामाङले यहाँ वर्षौँअघिदेखिको प्रयोगबिहीन रहेको संरचनामा व्यवस्थित रूपमा हटिया लगाउँदा व्यापारीहरूलाई पनि सुरक्षाको प्रत्याभूति हुने बताए ।
उनले भने, ‘यसअघि नगरपालिका र वडाले यहाँको संरचना संरक्षणमा चासो नदेखाउँदा बनेका संरचना पनि प्रयोगबिहीन अवस्थामा थियो, अब व्यवस्थित हुँदा व्यापारीलाई पनि घामपानीबाट बच्ने तथा सुरक्षाको प्रत्यानुभूति हुन्छ ।’
उनले यसअघि वडा र नगरले चासो नदेखाएकोमा गुनासो व्यक्त गरे ।
‘यसअघि जनप्रतिनिधिहरू नै टोल विकासको अध्यक्ष भएर वर्षौँसम्म रहँदा समेत व्यवस्थापन हुन सकेन,’ उनले भने, ‘साग, सब्जी बेच्नेहरू पलायन हुने अवस्था छ, अब व्यवस्थित गरेर हटिया लगाउँदा सबैलाई सहज हुन्छ ।’
स्थानीय बुद्वचोक टोल विकास संस्थाका अध्यक्ष पूर्ण तामाङले भने कर्मचारीहरूको हालीमुहालीले गर्दा हटिया व्यवस्थित हुन नसकेकाले संरचना अपहेलित अवस्थामा रहेको बताए ।
उनले भने, ‘कर्मचारीहरूको हालीमुहाली र वडाले ध्यान नदिँदा सब्जीवालाहरू पलायन हुने अवस्थामा छ, अव व्यवस्थित हुँदा यहाँको बजार चल्छ, नगरको आयस्रोत पनि बढ्छ ।’
उनका अनुसार केही सीमित रकम लिएर हटिया व्यवस्थापन गरिनेगरी तयारी गरिएको छ । अहिले सडकमा जथाभावी बजार लाग्दा सवारी दुर्घटना, सवारी चाप बढेकाले पनि अब व्यवस्थित गरिने उनले बताए ।
हाल आइतबार र बुधबार इटहरी ९ हाटखोला किनार, सोमबार र बिहीबार इटहरी २० तरहरा, मंगलबार र शनिबार इटहरी ५ रिजलटाँसीमा हटिया लाग्दै आएको छ । यस्तै, शुक्रबार इटहरीको पचरुखीमा हटिया लाग्दै आएको छ ।
तर, हटिया व्यवस्थापनमा स्थानीय सरकारले चासो नदेखाउँदा व्यापारीहरू सडकमै साग, सब्जी बेच्न बाध्य छन् ।












Discussion about this post