इटहरी : सुनसरीको बर्जु गाउँपालिकाका कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा ठप्प पारिएको छ । कार्यालयभित्र दुर्व्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको प्रत्याभूति नभएको र काम गर्ने सहज वातावरण नबनेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह ठप्प पारिएको हो ।
‘कार्यालयभित्र आक्रोसित भीड प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गरिनु खेदजनक छ । जसले गर्दा शान्तिपूर्ण तवरले काम गर्ने वातावरणमा खलल पुग्नुका साथै शान्ति सुरक्षामा चुनौती बढाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाभित्रका कर्मचारीको आन्दोलनमा पालिकाभित्रका सबै शिक्षक, कर्मचारी लगायतले ऐक्यबद्धता जनाएका छन् । सो अनुसार आज (बुधबार) बाट विद्यालयका शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधी पेनडाउन जस्ता कार्यक्रम गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए ।

कर्मचारीहरूको बैठकले आरोप लगाइएका कर्मचारीउपर आन्तरिक छानबिन हुने र दोषी पाइए कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने समेत निर्णय गरेको उनले बताए ।
यता गाउँपालिका अध्यक्ष जीवछकुमार राय समेतले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र सत्य–तथ्य बाहिर ल्याउने बताएका छन् ।
गाउँपालिकाभित्र कर्मचारी उपर भएको दुव्र्यवहारको घटनाप्रति एकीकृत सरकारी कर्मचारी सङ्गठनले समेत ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष गणेश भट्टराईसहित गाउँपालिका पुगेको कर्मचारीको टोलीले घटनाको वस्तुस्थिति बुझेको थियो ।
यस्तै, नेपाली कांग्रेस र नेकपा एमाले बर्जु गाउँपालिका समितिले पनि विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ ।












Discussion about this post