इटहरी : इटहरी उपमहानगरपालिका २० तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म निर्माणाधीन ४ लेन सडकको काम नभएको भन्दै स्थानीयबासी आन्दोलित बनेका छन् ।
लामो समयदेखि अलपत्र रहेको सडकमा दैनिकजसो दुर्घटना हुने र मानिसको ज्यानै पनि गएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाजले चक्काजाम गर्दै काम तत्काल सुरु नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।
समाजका अध्यक्ष कुमार कार्कीका अनुसार भदौ ६ गतेसम्म काम सुरु नगरिए ठेकेदार कम्पनीको कार्यालयमा तालाबन्दी गरिने बताइको छ ।
धरानस्थित तीनकुनेमा सवारीसाधन चक्काजाम गर्दै ४ लेन सडकको काम तत्काल सुरु गर्न चेतावनी दिइएको कार्कीले बताए ।
उनले भने, ‘इटहरीबाट धरान आउँदा होस् वा धरानबाट इटहरी जाँदा धूलोका कारण बिरामी पर्ने अवस्था छ, लामो समयसम्म सडक नबन्दा यहाँका खाल्डाखुल्डीका कारण दुर्घटना भएर ज्यानै जाने अवस्था छ ।’
रानी–विराटनगर–इटहरी–तरहरा सडकसम्म ६ लेन निर्माण गरिएपनि तरहराको पानीपियादेखि धरानको तीनकुनेसम्म चारकोसे जंगल क्षेत्र पर्ने भएकाले यहाँ ४ लेनको सडक निर्माण हुनेगरी ठेक्का लागेको छ ।
सडक विभागका अनुसार होमदङ प्यासिफिक जेबी कन्स्ट्रक्सनले २०७७ असार ५ गते सडक निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० असार ४ गते निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । अब १० महिना मात्र समय बाँकी रहेको छ ।
होमदोङ जेवीले निर्माण गर्ने सडकको सरकारी लागत इस्टिमेट ७८ करोड ९८ लाख २५ हजार ९ सय रुपैयाँ रहेको थियो । होमदोङले जम्मा ५० करोड ३७ लाख २३ हजार ५४६ रुपैयाँमा सम्झौता गरेको थियो ।
हालसम्म १२ करोड १० लाख ८ हजार ४ सय ३० रुपैयाँ निकासा दिएको छ । यस्तै, रौताह कन्स्ट्रक्सनले पनि सोही मितिमा ३९ करोड ५९ लाख ७३ हजार ६ सय ९३ रुपैयाँमा सम्झौता गरेको थियो भने सरकारी लागत इस्टिमेट ५६ करोड ३१ लाख ५२ हजार ७ सय २५ रुपैयाँ रहेको थियो ।
कन्स्ट्रक्सनले हालसम्म १६ करोड ७१ लाख ७९ हजार ३२ रुपैयाँ निकासा गरेको छ ।
जेवीले २०७८ असार १० गते २०७९ माघ ९ गते सम्पन्न गर्नेगरी ४ करोड ९० लाख ४१ हजार ९ सय ६५ रुपैयाँमा सम्झौता गरेको हो ।












Discussion about this post