इटहरी : प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार (आज) प्रदेशभर बन्द गरिएको छ ।
किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो ।
अहिले कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण अहिले कुनै पनि सवारी साधनहरू सञ्चालन छैनन् ।
ठूला देखि साना सवारी साधनसहित मोटरसाइकल समेत चल्न नदिँदा समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार अहिले इटहरीका विभिन्न ठाउँमा बन्दको प्रभाव छ । इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा अहिले बन्दकर्ताले आन्दोलन गरिरहेका छन् ।
६ लेन सडकमै दुवैतर्फ बन्द गरिदाँ लामो बाटो भएर आउने सवारी साधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको विचल्ली भएको छ ।
‘बन्दका कारण अहिले गाडीहरू चल्न पाएका छैनन्,’ डीएसपी काफ्लेले भने, ‘हामी नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा बाटो खुलाउने प्रयत्न भएपनि बन्दकर्ताले मानिरहेका छैनन् ।’
यसैबीच बन्द नगर्न आग्रह गरेपनि बन्दकर्ताले नमानेपछि स्थानीय र बन्दकर्ताबीच भनाभन भएको छ । स्थानीयबासीले बन्द गर्न प्रोत्साहित गर्न नहुने बताएपनि बन्दकर्ताले नमानेपछि भनाभन भएको हो ।
इटहरी २० का राजु श्रेष्ठले तरहरामा बन्दको प्रभाव कहिल्यै नपरेको भएपनि आज भने बन्द हुँदा स्थानीय जनजीवन प्रभावित बनेको बताए ।
‘ठूला–ठूला नेपाल बन्दमा कहिल्यै बन्द नभएको तरहरामा आज बन्द हुँदा समस्या भएको छ,’ उनले भने, ‘सरकारले नामकरण राख्दा जनताले सास्ती पाउनुपर्ने अवस्था छ, जातीयताको राजनीति बन्द गरौँ भनेर हामीले आवाज उठाइरहेका छौँ ।’
विगतमा पार्टीको राजनीति गर्नेहरू अहिले जातीयताको राजनीति गर्दै बन्द गराउन सक्रिय रहेको उनले बताए । आँफूहरूले बन्द अस्वीकार गर्ने स्थानीयबासीको भनाइ छ ।
एम्बुलेन्स, दमकल लगायतका सवारी साधन भने चलाउन दिनेगरी सहमति हुने प्रयास भइरहेको बताइएको छ ।




















Discussion about this post