विराटनगर : विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा भएको दृष्य बाहिरिएको छ ।
बुधबार साँझ ४ः३० बजे काठमाण्डौंका लागि उडेको विमानमा आर्थिक लेनदेनको कारण झगडा भएको थियो ।
एक प्रत्यक्षदर्शीले भने, ‘गोरखा घर भएका एकजनाले काठमाण्डौंमा घर भएका मानिसलाई रकम दिनु पर्ने रहेछ । गोरखालीले दिएको चेक बाउन्स भएपछि इटहरीमा जग्गा रहेको भन्दै सँगै आएका रहेछन् ।’
जहाजमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार जग्गा देखाउने भन्दै इटहरी आएपछि भागेका गोर्खाली र काठमाण्डौंका नागरिक फर्कने बेला जहाजमै भेट भएका थिए ।
इटहरीमा जग्गा छ भनेर भरोसा पारेपनि नभएपछि पैसा लिनुपर्ने आक्रोशित थिए । त्यसमा पनि झुक्याएर ल्याएर भागेपछि दुःख पाएको मनस्थितिमा रहेका थिए । तर, संयोगले फर्कने बेलामा एउटै जहाजमा भेट भएपछि सामान्य भनाभनबाट कुटाकुट उन्मुख भएको थियो ।
उनीहरुमध्ये एक जनाले काठमाडौंमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने शर्तमा दुवै जना विराटनगर पुगेका थिए ।
तर, त्यहाँ समेत जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफू काठमाडौं फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्ति भने आफू विराटनगर मै रहने बताएका थिए । तर उनले अर्को उडानमा टिकट काटेका रहेछन् ।
बुद्ध एयरका एक अधिकारीका अनुसार बुधबार दुई उडानलाई एकै उडानमा मर्ज गरी काठमाडौं उडाइएको थियो ।
संयोगवश दुवै यात्रुको बस्ने सिट एउटै लाइन (ए र बी) मा पर्न गयो । ‘अघिसम्म काठमाडौं नजाने, विराटनगरमै रहने भनेका व्यक्तिलाई आफूसँगैको सिटमा देखेपछि झगडा सुरु भएको रहेछ,’ ती अधिकारीले भने, ‘फ्लाइट एटेन्डेन्सले सम्झाइ बुझाइ गरी अर्को सिट फरक फरक पारी राख्ने व्यवस्था गरेपछि झगडा शान्त भएको थियो ।’
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा लगाएको थियो ।
विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको बुझिएको छ । बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो ।
‘गैरसैनिक हवाई उडान ऐन २०१५’ र ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ अनुसार उनीहरुलाई कारबाही हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।












Discussion about this post