इलाम : इलामको सूर्योदय नगरपालिकाको अनुगमन टोलीले नगरपालिका वडा ४ को एक उद्योगमा रहेको ५० हजार किलो तयारी चिया नष्ट गरेको छ ।
उद्योगले ‘गुणस्तरहीन’ चिया बेच्न लागेको भन्दै नगर टोलीले नष्ट गरेको हो ।
सिन्का र धुलोमात्रै रहेको चियाले सूर्योदय नगर र नेपाली चियाको बदनाम गराउने भएपछि गुणस्तरहीन चिया नष्ट गरिएको वडा १० का वडाध्यक्ष तथा चिया समस्या समाधान समितिका संयोजक पेमाउगेन लामाले बताए ।
‘त्यो उद्योगले बेच्न लागेको चियाले यहाँको अरू गुणस्तरीय चिया बिक्रीमा समेत असर गर्ने देखियो,’ उनले भने, ‘कारखानासँग छलफल गरी नष्ट गर्न लगाइएको हो ।’ बुधबार यो चिया खाडल खनेर पुुरिएको छ ।
यो उद्योगले अरू उद्योगबाट समेत गुणस्तरहीन चिया ल्याएर बेच्ने गरेको भेटिएको छ । उद्योगमा भण्डारण गरेर राखिएको बोराको मात्र होइन, प्याकेजिङ गरिएको चियासमेत गुणस्तरहीन पाइएको वडाध्यक्ष लामाले बताए ।
‘यो चिया भारतमा बिक्छ,’ उद्योग प्रबन्धक अजय जैसवालले भने, ‘हाम्रो उद्योगले मात्रै होइन, अरू उद्योगले पनि बेच्नेगरेका छन् ।’
सूर्योदय नगरले चिया क्षेत्रमा न्यूनतम् समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चिया निर्यातलगायतका लागि काम गरिरहेको नगरको भनाइ छ ।














Discussion about this post