Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

अर्जुन उप्रेती by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, पर्यावरण, भिजिट नेपाल, विचार
0
धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
50
SHARES
Share on FacebookShare on Twitter

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि हो । हिउँले ढाकिएका विशाल पर्खाल, ठाडा हिमाली भिर, हिमपहिरोको निरन्तर जोखिम, अप्रत्याशित मौसम र कठिन आरोहण मार्गका कारण धौलागिरि विश्वका सबैभन्दा चुनौतीपूर्ण आठ हजार मिटर अग्ला हिमालमध्ये एक मानिन्छ ।

धौलागिरिमा सन् १९६० मे १३ मा पहिलोपटक यसको शिखरमा मानव पाइला पुगेको थियो । त्यसयता ६ दशकभन्दा लामो समय बितिसकेको छ । सयौँ आरोहीले यसको चुचुरो चुमेका छन् भने धेरैले यही हिमालको काखमा ज्यान गुमाएका छन् ।

विश्व पर्वतारोहणको इतिहासमा विशेष स्थान बनाएको धौलागिरि अझै पनि सगरमाथा र मनास्लुजस्तो व्यावसायिक आरोहणको प्रमुख गन्तव्य बन्न सकेको छैन ।

हिमालको उचाइ, आरोहणको जोखिम र प्राकृतिक सुन्दरताका हिसाबले धौलागिरि असाधारण छ । तर यसको चर्चा र पर्यटन बजारमा अपेक्षाकृत कम उपस्थिति हुनुका पछाडि भौगोलिक विकटता, कठिन पदयात्रा, मौसमको अनिश्चितता र आरोहणको उच्च जोखिमजस्ता कारण जोडिएका छन् । धौलागिरि हिमाल नेपालको गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लामा अवस्थित छ । यसको मुख्य शिखर धौलागिरि प्रथम समुद्री सतहबाट ८ हजार १६७ मिटर उचाइमा छ ।

यो विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो हिमाल हो । संस्कृत भाषामा ’धवल’ को अर्थ सेतो र ’गिरि’ को अर्थ पहाड वा पर्वत हुन्छ । त्यसैले हिउँले सधैँ ढाकिएको यस विशाल हिमालको नाम धौलागिरि रहन गएको मानिन्छ । धौलागिरि हिमशृङ्खलामा धौलागिरि प्रथमसँगै धौलागिरि द्वितीय, तृतीय, चतुर्थ, पाँचौँ र छैटौँलगायतका हिमाल छन् । यस क्षेत्रमा फैलिएको हिमाली भूगोल, गहिरा खोँच, हिमनदी र अग्ला हिमाली भञ्ज्याङले यसलाई प्राकृतिक दृष्टिले पनि विशिष्ट बनाएका छन् ।

धौलागिरि प्रथमको सामान्य आरोहण मार्ग उत्तरपूर्वी धार हो । यस मार्गबाट आरोहण गर्दा हिमपहिरो, हिउँका चिरा, अत्यधिक चिसो र कठिन हिमाली भूभाग पार गर्नुपर्छ। यही कारण धौलागिरिलाई सामान्य आरोहण अनुभव भएका व्यक्तिका लागि सहज गन्तव्य मानिँदैन । धौलागिरि आरोहणको इतिहास सन् १९४९ देखि सुरु भएको मानिन्छ ।

त्यस वर्ष अमेरिकी टोलीले आरोहणको प्रयास गरेको अभिलेख भेटिए पनि त्यसको विस्तृत विवरण उपलब्ध छैन। त्यसपछि सन् १९५३ मा स्विस टोलीले उत्तरतर्फबाट आरोहणको प्रयास ग¥यो। तर कठिन चट्टानी भूभागका कारण करिब ७ हजार ७ सय मिटरबाट फर्किनुप¥यो ।

सन् १९५४ मा अर्जेन्टिनाका आरोही फ्रान्सिस्को इबानेज नेतृत्वको टोलीले ८ हजार मिटर आसपास पुगेर पनि शिखर चुम्न सकेन । आरोहणका क्रममा इबानेजलाई गम्भीर शीतदंश भयो । उपचारका क्रममा सन् १९५४ जुन ३० मा काठमाडौंमा उनको मृत्यु भयो । उनी धौलागिरि आरोहण इतिहासमा अभिलेख भएको पहिलो मृतकका रूपमा उल्लेख छन् ।

सन् १९५६ मा अर्जेन्टिनी टोलीले पुनः प्रयास ग¥यो। तर हिमपहिरोमा परेर नेपाली भरिया बलबहादुरको मृत्यु भयो । सन् १९५८ मा स्विस टोलीले गहिरो हिउँ र हिमपहिरोको जोखिमका कारण प्रयास छाड्यो । सन् १९५९ मा अस्ट्रियाली टोलीले उत्तरपूर्वी धारबाट आरोहण गर्ने प्रयास गर्दा ७ हजार ८ सय मिटर आसपास पुगेर खराब मौसमका कारण फर्किनुप¥यो ।

यही अभियानमा अप्रिल २९ मा हेनरिक रोइस क्याम्प दुईनजिक करिब ५ हजार ७ सय मिटरमा हिमचिरामा खसेर मृत्यु भएका थिए । लगातारका असफल प्रयास र मानवीय क्षतिपछि सन् १९६० मा स्विस अभियान नेता म्याक्स आइजेलिनको नेतृत्वमा अर्को अन्तर्राष्ट्रिय टोली धौलागिरि पुग्यो ।

टोलीले आरोहण सामग्री ओसार्न ’यती’ नामको सानो विमानसमेत प्रयोग गरेको थियो । फ्रेन्च पास क्षेत्रमा सामग्री झार्ने क्रममा विमान दुर्घटनामा परे पनि चालक दलका सदस्य सकुशल बाँचे । अन्ततः सन् १९६० मे १३ मा टोलीका छ सदस्यले धौलागिरिको शिखर चुमे ।

उनीहरू थिए– कुर्ट डिम्बर्गर (अस्ट्रिया) पिटर डिनर (जर्मनी) अन्स्र्ट फोरर (स्विट्जरल्यान्ड) अल्बिन शेल्बर्ट (स्विट्जरल्यान्ड) निमा दोर्जे शेर्पा (नेपाल) नवान्ग दोर्जे शेर्पा (नेपाल) यसरी धौलागिरि आरोहण गर्ने पहिलो नेपालीका रूपमा नवान्ग दोर्जे शेर्पाको नाम स्थापित भयो । त्यसको १० दिनपछि मे २३ मा ह्युगो वेबर र मिसेल भोसेरले पनि शिखर चुमे ।

धौलागिरिको पहिलो आरोहणले विश्व पर्वतारोहण इतिहासमा विशेष स्थान बनायो । नेपालका आठ हजार मिटर अग्ला हिमालमध्ये आरोहण भएको अन्तिम हिमालका रूपमा पनि धौलागिरि चिनियो । धौलागिरिको आरोहण इतिहास सफलताका कथाले मात्र बनेको छैन । यहाँ भएका दुर्घटनाले हिमालको वास्तविक जोखिम पनि देखाउँछन् । विशेषगरी हिमपहिरो, हिमचिरा, अत्यधिक चिसो, थकान र अचानक बदलिने मौसमले आरोही तथा सहयोगी जनशक्तिको ज्यान लिएको छ ।

सन् १९६९

धौलागिरि इतिहासकै दुःखद वर्ष सन् १९६९ धौलागिरि हिमशृङ्खलाको सबैभन्दा त्रासदीपूर्ण वर्षमध्ये एक हो । त्यस वर्ष धौलागिरि प्रथम र धौलागिरि चतुर्थमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जनाले ज्यान गुमाए । धौलागिरि प्रथमको दक्षिणपूर्वी धारबाट आरोहण गर्न पुगेको अमेरिकी टोली सन् १९६९ अप्रिल २८ मा भीषण हिमपहिरोको चपेटामा प¥यो ।

हिमपहिरोमा पाँच जना अभियान सदस्य र दुई जना सहयोगी जनशक्तिको मृत्यु भएको अभिलेख हिमालयन डेटाबेसमा छ । टोलीले करिब ५ हजार ३३५ मिटर उचाइमा अभियान त्याग्नुपरेको थियो । त्यही वर्ष धौलागिरि चतुर्थमा अस्ट्रियाली टोली पनि दुर्घटनामा प¥यो । नोभेम्बर ९ देखि ११ बीच क्याम्प पाँचमा हिमपहिरो खसेको आशंका गरियो ।

आरोहण टोलीका नेता रिचर्ड होयरसहित पाँच अस्ट्रियाली आरोही र एक शेर्पा सदस्य बेपत्ता भए । खोजी गर्दा उनीहरूको शवसमेत फेला परेन । यसरी दुई फरक हिमालमा भएका दुर्घटनाले १३ जनाको ज्यान लिएको थियो । यो घटनालाई धौलागिरि हिमशृङ्खलाको सबैभन्दा ठूलो मानवीय क्षतिमध्ये एक मानिन्छ ।

सन् १९७४

आरोही र शेर्पाको मृत्यु सन् १९७४ मा बेलायती टोलीले धौलागिरि चतुर्थको दक्षिणी मार्गबाट आरोहणको प्रयास गरेको थियो । नोभेम्बर २० मा अभियान त्याग्ने क्रममा एलन डेविसन करिब १ हजार ५ सय फिट तल खसेर मृत्यु भए । त्यसको तीन दिनपछि नोभेम्बर २३ मा क्याम्प एक र आधारशिविरबीच हिमपहिरोमा परी शेर्पा कान्छाको मृत्यु भयो ।

सन् २०२२ 

ग्रीक आरोही एन्टोनियोस सिकारिसको मृत्यु सन् २०२२ अप्रिल १२ मा ग्रीसका अनुभवी आरोही एन्टोनियोस सिकारिसको धौलागिरिमा मृत्यु भयो । उनले शिखर आरोहण गरेपछि फर्कने क्रममा करिब ७ हजार ४ सय मिटर उचाइमा अत्यधिक थकानका कारण ज्यान गुमाएका थिए । उनी धौलागिरि शिखर चुमेर पनि सुरक्षित रूपमा तल फर्किन नसकेका आरोहीमध्ये एक बने ।

सन् २०२४ 

पाँच रुसी आरोहीको सामूहिक मृत्यु धौलागिरिमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा चर्चित दुर्घटना सन् २०२४ अक्टोबरमा भयो । अक्टोबर ६ मा धौलागिरि आरोहणमा गएका पाँच रुसी आरोही सम्पर्कविहीन भए । उनीहरू करिब ७ हजार ६ सय मिटर उचाइमा पुगेपछि सम्पर्क टुटेको थियो । अक्टोबर ८ मा हेलिकप्टरबाट खोजी गर्दा उनीहरूको शव फेला परेको खबर सार्वजनिक भयो ।

मृत्यु हुने आरोहीहरू

अलेक्जेन्डर
दुशेइको ओलेग
क्रुग्लोभ भ्लादिमिर
चिस्टिकोभ
मिखाइल नोसेन्को
दिमित्री श्पिलेभोय

उनीहरू शेर्पा गाइडबिना आरोहणमा गएको समाचार सार्वजनिक भएको थियो । एउटै डोरीमा जोडिएका आरोहीमध्ये एक जना चिप्लिएपछि अन्य सदस्य पनि सँगै खसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर दुर्घटनाको वास्तविक कारणबारे निश्चित निष्कर्ष सार्वजनिक भएको थिएन । खराब मौसम र अत्यन्त कठिन भूगोलका कारण उनीहरूको शव तत्काल निकाल्न सम्भव भएन । अक्टोबर १६ मा उच्च हिमाली उद्धार टोलीले शवहरू निकालेर काठमाडौं ल्याएको थियो ।

यस घटनाले धौलागिरिमा आरोहण गर्दा अनुभव, सुरक्षा व्यवस्थापन र टोलीगत समन्वय कति महत्त्वपूर्ण हुन्छ भन्ने पुनः देखाएको थियो । अहिलेसम्म कति जनाले चढे धौलागिरिरु धौलागिरि आरोहणको तथ्याङ्कबारे विभिन्न समयमा फरक संख्या सार्वजनिक भएका छन् ।

यस विषयमा नेपाल पर्यटन विभागको अभिलेख र हिमालयन डेटाबेसलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक छ । राइजिङ नेपालले सन् २०२५ मे २३ मा प्रकाशित गरेको समाचारमा पर्यटन विभागका प्रवक्तालाई उदृत गर्दै सन् २०२३ को अन्त्यसम्म ६३८ जनाले धौलागिरिको शिखर चुमेको उल्लेख गरेको छ ।

सन् २०२४ मा थप २९ जना र सन् २०२५ को मेसम्म थप १३ जना शिखरमा पुगेपछि कुल संख्या ६० पुगेको थियो । त्यस्तै, सन् २०२६ अप्रिलमा वसन्तकालीन आरोहणको सुरुवातमै थप नौ जना आरोही शिखरमा पुगेका थिए ।

यसले २०२६ को वसन्तकालसम्मको सार्वजनिक अभिलेखका आधारमा कम्तीमा ६९ सफल आरोहण पुगेको देखाउँछ । तर सन् २०२५ को बाँकी आरोहण र २०२६ को पछिल्लो सिजनसमेत समेटिएको अन्तिम एकीकृत सरकारी तथ्याङ्क सार्वजनिक हुन बाँकी नै छ ।

सगरमाथा, अन्नपूर्ण र मनास्लुको तुलनामा धौलागिरि आम पर्यटक तथा सामाजिक सञ्जालमा कम चर्चित देखिनुका पछाडि विभिन्न कारण छन् । तर पर्वतारोहणको अभिलेखमा भने धौलागिरि त्यति उपेक्षित छैन ।

हिमालयन डेटाबेसमा यो ४३२ अभियानसहित अभिलेख भएका ५०३ हिमालमध्ये सबैभन्दा धेरै अभियान भएका हिमालको सूचीमा छैटौँ स्थानमा छ । त्यसैले यसलाई पर्वतारोहीले बेवास्ता गरेकोभन्दा पनि आम पर्यटन बजारमा अपेक्षाकृत कम प्रचार भएको हिमाल भन्नु उपयुक्त हुन्छ ।

यसका प्रमुख कारण यस्ता छन्

१. भौगोलिक विकटता र कठिन पहुँच : धौलागिरि पुग्न म्याग्दीको बेनी हुँदै दरबाङ, मुदी, बगर, दोभान र इटालियन आधारशिविरतर्फको पदमार्ग प्रयोग गर्नुपर्छ । बाटोमा व्यवस्थित होटल तथा लजको सुविधा सीमित छ । धेरै ठाउँमा टेन्टमा बस्नुपर्ने अवस्था हुन्छ । खाद्यान्न, आरोहण सामग्री र आवश्यक उपकरण बोकेर लैजानुपर्ने भएकाले खर्च र व्यवस्थापन दुवै चुनौतीपूर्ण छन् ।

२. मौसमको अनिश्चितता : धौलागिरिमा मौसम छिटो परिवर्तन हुन्छ । एकै दिनमा घाम, हावाहुरी, हिमपात र बाक्लो कुहिरोको अवस्था आउन सक्छ । हिमपहिरोको जोखिमले आरोहण तालिका प्रभावित बनाउँछ । शिखर नजिकको मौसम अनुकूल नहुँदा लामो समयसम्म क्याम्पमै पर्खिनुपर्ने अवस्था पनि आउन सक्छ ।

३. प्राविधिक रूपमा कठिन आरोहण : धौलागिरिको उत्तरपूर्वी धारमा ठाडो हिउँ, हिमचिरा र जोखिमपूर्ण हिमाली भिरहरू छन् । आरोहणका लागि उच्च हिमाली अनुभव, शारीरिक क्षमता र प्राविधिक सीप आवश्यक हुन्छ । सामान्य व्यावसायिक आरोहणको अनुभव मात्र पर्याप्त नहुन सक्छ ।

४. उच्च लागत र सीमित व्यावसायिक सेवा : आरोहण सामग्री, खाना, अक्सिजन, डोरी, उच्च हिमाली गाइड, शेर्पा सहयोगी तथा अन्य व्यवस्थापनका लागि ठूलो रकम आवश्यक हुन्छ। कठिन भूगोलका कारण सामान ढुवानी गर्न धेरै जनशक्ति चाहिन्छ । यसले सगरमाथा वा मनास्लुको तुलनामा व्यावसायिक आरोहण सञ्चालन थप जटिल बनाउन सक्छ ।

५. पर्यटन पूर्वाधारको अभाव : धौलागिरि क्षेत्रको पदयात्रा मार्गमा पर्याप्त झोलुङ्गे पुल, सुरक्षित बाटो, संकेत चिह्न, आश्रयस्थल र आपत्कालीन उद्धार सुविधाको अभाव छ । विशेषगरी इटालियन आधारशिविरभन्दा माथिको क्षेत्रमा आवास र खानपानको नियमित सुविधा हुँदैन । धौलागिरि हिमालको अर्को विशेषता यसको आधारशिविरसम्म पुग्ने पदयात्रा हो ।

धौलागिरि सर्किट ट्रेक नेपालका चुनौतीपूर्ण र साहसिक पदमार्गमध्ये एक हो । बेनीबाट दरबाङ हुँदै मुरी, नाउरा, बगर, दोभान, इटालियन बेसक्याम्प, जापानी बेसक्याम्प र धौलागिरि आधारशिविरसम्म पुग्ने पदमार्गले आरोही तथा पदयात्रीलाई हिमालको नजिकबाट अवलोकन गर्ने अवसर दिन्छ ।

यसपछि फ्रेन्च पास करिब ५ हजार ३६० मिटर पार गरेर हिडन भ्याली पुगिन्छ । त्यहाँबाट धम्पुस पास हुँदै मुस्ताङको मार्फा झर्न सकिन्छ । यस पदमार्गमा देखिने धौलागिरिको विशाल उत्तरी पर्खाल, चोन्बर्दन हिमनदी, हिउँले ढाकिएका उपत्यका र हिडन भ्यालीको भूगोलले पर्यटकलाई अद्वितीय अनुभव दिन्छ । तर यो सामान्य चियाघरमा बस्दै गरिने पदयात्रा होइन ।

उच्च हिमाली अनुभव, उपयुक्त गाइड, पर्याप्त खाद्यान्न, टेन्ट र मौसमसम्बन्धी पूर्वतयारी आवश्यक हुन्छ । विशेषगरी आधारशिविरभन्दा माथि उद्धारको सुविधा सीमित हुन सक्छ । स्थानीय पूर्वाधारमा लगानी, पदमार्गको स्तरोन्नति, सुरक्षित पुल, संकेत चिह्न र आपत्कालीन उद्धार व्यवस्थापन गर्न सके धौलागिरि क्षेत्रलाई अन्तर्राष्ट्रिय साहसिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिन्छ ।

धौलागिरि र नेपालको पर्वतीय पर्यटनको भविष्य धौलागिरि आरोहणका लागि चुनौतीपूर्ण हिमाल होइन, म्याग्दी जिल्लाको पर्यटन विकास र नेपालको अन्तर्राष्ट्रिय पर्वतीय पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा पनि हो । सगरमाथाले नेपालको विश्वव्यापी पहिचान बनाएको छ । अन्नपूर्णले पदयात्रा पर्यटनलाई लोकप्रिय बनाएको छ ।

मनास्लुले व्यावसायिक आरोहण र साहसिक पर्यटनमा आफ्नो छुट्टै स्थान बनाएको छ । त्यसैगरी धौलागिरिले पनि प्राकृतिक सौन्दर्य, कठिन आरोहण इतिहास र साहसिक पदयात्राको माध्यमबाट नेपालको पर्यटनमा ठूलो योगदान दिन सक्ने सम्भावना राख्छ । तर यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले धौलागिरि क्षेत्रको पर्यटन पूर्वाधार विकासमा विशेष ध्यान दिन आवश्यक छ ।

पदमार्ग निर्माण, सुरक्षित पुल, सञ्चार सुविधा, उद्धार संयन्त्र, आधारशिविरसम्मको पहुँच र अन्तर्राष्ट्रिय प्रचारलाई प्राथमिकता दिनुपर्छ ।

सन् १९६० मा पहिलोपटक मानव पाइला पुगेको धौलागिरिले ६ दशकभन्दा लामो आरोहण इतिहास पार गरिसकेको छ । यस अवधिमा सयौँ आरोहीले शिखर चुमेका छन् भने धेरैले ज्यान गुमाएका छन् । आरोहणको सफलतासँगै दुर्घटनामा ज्यान गुमाएका नेपाली सहयोगी तथा विदेशी आरोहीहरूको योगदानलाई पनि इतिहासमा उचित स्थान दिन आवश्यक छ ।

धौलागिरिको पहिचान ८ हजार १६७ मिटरको उचाइमा सीमित छैन । यो साहस, संघर्ष, मानवीय क्षति, प्राकृतिक सुन्दरता र विश्व पर्वतारोहणको इतिहास बोकेको हिमाल हो । उचित प्रचार र पूर्वाधार विकास गर्न सके धौलागिरि नेपालको पर्वतीय पर्यटनको अर्को अन्तर्राष्ट्रिय पहिचान बन्न सक्छ ।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: अर्जुन उप्रेतीटाकुरा विशेषधौलागिरि
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापा : हात्तीको बथान नेपाल छिर्न नदिन सीमामा सुरक्षा घेरा

by रासस
कार्तिक २६, २०८३
0

झापा : मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।...

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

कार्तिक २२, २०८३
भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्ग चिनाउन डिजिटल पहल, पर्यटकले वेबसाइटबाटै सूचना पाउने

कार्तिक २२, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.