इटहरी : निर्माणाधीन ६ लेन सडकको रोकिएको काम तीन दिनभित्र सुरु गर्ने लिखित प्रतिबद्वता गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले केही दिनअघि निर्माण कम्पनीले तरहराको पानीपियादेखि सेउती पुलसम्मको काम लामो समयदेखि काम नगरेका कारण कम्पनीको गाडी नियन्त्रणमा लिएका थिए ।
यससँगै निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबीच बुधबार भएको छलफलमा निर्माण कम्पनीले तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पूरा गर्न पटकपटक निर्माण कम्पनीलाईं ध्यानाकर्षण गराउँदै आएको थियो ।
सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्वता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो ।
यो सडक हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्यावबाट कालोपत्रे गर्नका लागि ल्यावको रिपोर्ट आउन अब १२ दिनसम्म आइसक्ने र आइतबार (वैशाख १७ गते) देखि धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए ।
‘इस्टमेटभन्दा ५० लाखभन्दा बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाई हुन पुग्यो ।’ आँफूहरूले असार मसान्तसम्म काम सक्ने उनको दाबी छ ।
रानी–विराटनगर–इटहरी–तरहरा–धरान सडकखण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ ।
इटहरीका मेयर पौडेलले अब निर्माण कम्पनीले लिखित प्रतिबद्वता व्यक्त गरेको समयमा सडक पूरा गर्ने विश्वास गरे ।
२०६९/७० बाट सुरु भएर सात वर्षभित्रमा विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो ।

तर, पछिल्लो पटक भने २०८० असार मसान्तसम्मको म्याद थप गरिएको छ । सडक सम्पन्न गरिसक्न १० अर्ब ९८ करोड लागत अनुमान गरिएको छ ।












Discussion about this post