झापा : झापाबाट इलामतर्फ जान लागेका सवारी साधनमा अवरोध भएको छ । पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन बन्द गरेको हो ।
नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले सवारी साधन चल्न रोक लगाएका हुन् ।
आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।
उक्त घटनामा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवालाई प्रहरीले पक्राउ गरेपछि बिना सर्त रिहाइको माग राखेर पहिचानवादीहरू आन्दोलनमा उत्रिएका हुन् ।
झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि अवरोध पुर्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
अवरोधका बीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाइरहेको उनले बताए । पूर्वी पहाडी क्षेत्रमा पनि पहिचानवादीहरूले मंगलबार यातायात अवरुद्ध पारेको जनाइएको छ ।
बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधनमा अवरोभ भएको छ ।














Discussion about this post