प्रदेश १ प्रहरीले सामाजिक सञ्जालमा बर्दी लगाएर फोटो हाल्नेलाई कडाइ गर्न थालेको छ । वर्दीसहितका तस्बिरहरू सामाजिक सञ्जालमा राख्न थालेको भन्दै अहिले प्रहरीले कडाइ गर्न थालेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले वर्दी लगाएको तस्बिर सामाजिक सञ्जालमा बिनाअर्थ प्रयोग नगर्न सर्कुलर जारी गरेको छ । वर्दीको सामाजिक सञ्जालमा दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ ।
वर्दीको दुरुपयोग हुने र मर्यादा घट्ने गरी तस्बिरहरू सामाजिक सञ्जालमा नराख्न चौकी स्तरसम्मका कार्यालयहरूलाई निर्देशन भएको प्रदेश प्रहरीका प्रहरी प्रवक्ता दीपक पोखरेलले बताए ।
मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी टिकटक बनाएको विषयलाई लिएर छानबिनको दायरामा तानिएका छन् ।
विवादित तवरबाट वर्दीमै टिकटक बनाएर फेसबुकमा पोष्ट गरेकाले कारबाही अघि बढाउन हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन शुरु गरिएको प्रदेश प्रहरीका प्रवक्ता पोखरेलले बताए ।
















Discussion about this post