इटहरी : ‘चार बर्ष अगाडि मैले वहाँसँग प्रेम विवाह गरेँ तर प्रेम विवाह गरेको दुई वर्ष नबित्दै मेरो खुशी नै खोसियो,’ इटहरी २ देविथान चोककी एक महिलाले आफ्नो बेदना सुनाउँदै भनिन्, ‘विवाहपछि बीचमा श्रीमान श्रीमतीबीच सामान्य झगडा त जसको पनि हुन्छ, तर मेरो त जिन्दगीकै खुशी खोसिने गरी समस्या आईलाग्यो ।’
इटहरी २ की एक युवतीले ४ बर्ष अगाडि रामधुनी १ का आशिष प्याकुरेलसँग घरपरिवारकै सल्लाहमा प्रेम विवाह गरिन् । विवाह गरेको डेढ बर्षपछि उनको पेटमा बच्चा बस्यो ।
तर, जब पेटमा बच्चा बस्यो त्यसपछि भने श्रीमान आशिषले उनीमाथि घरेलु हिंसा सुरु गरे ।
‘विहे गरेको डेढ बर्षपछि प्रेगनेन्ट भयो, हस्पिटल लैजानु भन्दा तैँले नाटक गरिस् भनेर भन्नुभयो,’ श्रीमानले गरेको घरेलु हिंसाको बिरुद्धमा बोल्दै उनले आईतबार टाकुरान्यूजलाई सुनाईन्, ‘बीचमा मैले माईतको दाईलाई बोलाएर नै हस्पिटल जाने आउँने गरेँ ।’ उनले आँफूहरु त्यो समयमा काठमाडौँमा बस्ने गरेको र श्रीमानले भने आँफू अफिसकै काममा ब्यस्त रहेको भन्दै पन्छिने गर्न थालेको बताईन् ।

उनले आफ्ना श्रीमान आशिष भने इन्स्युरेन्सको काममा व्यस्त रहने गरेको र आफ्नो वास्ता पनि नगरेका कारण आँफू समस्यामा रहेको उनले सुनाईन् ।
वैशाखमा बच्चा खेर गएपछि आँफू केही समयपछि घर गएको र पुनः असारमा आँफ्नो पेटमा अर्को बच्चा भएको बताउँदै उनले भनिन्, ‘पहिलो बच्चा खेर गयो, श्रीमानले पनि वास्ता गर्नुभएन, अब त राम्रो हुन्छ भन्ने सोचेको थिएँ, मेरो जिन्दगीमा त त्यसपछि झनै खुशी खोसियो ।’ उनले आफ्ना श्रीमान अन्य केटीहरुसँग पनि शारीरिक सम्बन्धमा रहेको थाहा पाएपछि घरमा झगडा हुने गरेको सुनाउँदै अर्को बच्चा एबोर्सन गर्न लगाएको बताईन् ।
‘मेरो पेटमा बच्चा आयो भनेर थाहा पाएपछि एबोर्सन गर् भनेर भन्नुभयो,’ उनले स्मरण गरिन्, ‘मैले मेरो खुशी भर्खरै गुमको छ फेरि खुशी गुमाउँन चाहँदिन भन्दा जबरजस्ती मलाई औषधी सेवन गर्न लगाउँनुभयो ।’ आँफूले बच्चालाई जन्मदिने बताउँदा–बताउँदै पनि श्रीमानले जबरजस्ती रुपमा औषधी सेवन गराएर एबोर्सन गर्न लगाएको उनले बताईन् ।

‘मलाई ब्लाकमेल गरेर वहाँले त्यस्तो गरेपछि म बिरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दायर गर्नुभएछ । श्रीमतीले किचकिच गरी म सँगै बस्न सक्दिन भनेर वहाँले म बिरुद्ध मुद्धा हाल्नुभएछ,’ उनले गहकिलो मुद्रामा टाकुरासँग सुनाईन्, ‘म माथि घरेलु हिंसा भयो, अहिले मेरो फेसबुक ह््याक गरेर नराम्रो म्यासेज र फोटो पोष्ट गर्ने पनि पाएकी छु ।’ उनले आँफू अन्यायमा परेकाले न्यायका लागि अपिल गरिन् ।
गत मंसिर १ गते काठमाडौँ जिल्ला अदालतमा श्रीमान आशिष प्याकुरेलले सम्बन्ध बिच्छेदको मुद्धा दायर गरेको भएपनि दाबी नपुगेका कारण मुद्धा खारेज भएको थियो । न्यायधीश नवराज दाहालको इजलाशले मुद्धाका लागि दाबी नपुगेकाले उक्त मुद्धा गत फागुन २८ गते खारेज गरेको थियो ।

मुद्धा खारेज भएपनि आँफू पुनः सम्बन्धमै रहने झिनो आश बोकेकी ती युवती अहिले भने नैराश्यतामा डुबेकी छिन् । १० दिन अगाडि मात्रै जिल्ला प्रशाशन कार्यालय सुनसरीमा मिलापत्र गरेको भएपनि अहिले काठमाडौँ स्थित उच्च अदालतमा आशिषले सम्बन्ध बिच्छेदको मुद्धा हालेकाले उनको शरीर कमजोर बन्दै गएको उनी सुनाउँछिन् ।
‘दुईवटा सन्तान नै गुमाउनुपरेपछि म झनै कमजोरी भएकी छु,’ उनले भनिन्, ‘श्रीमानबाट पनि घरेलु हिंसामा परेका कारण समस्या रहेको छ ।’ आशिषले उनका ठूलोबुवाका छोराको फेसबुक एकाउन्टबाट जथाभावी गालीगलौजका म्यासेज पठाउँने गरेको समेत उनको गुनासो थियो ।

‘मलाई शारीरिक यातना मात्रै नभई मानसिक यातना समेत भएको छ,’ उनले भनिन्, ‘भएको घरबार किन बिगार्नु भनेर मैले सर्वस्व सुम्पेर वहाँसँग विवाह गरेँ, अहिले रुनु न हाँस्नु भएकी छु ।’
ती युवतीले आफ्नो बेदना सुनाउँदा उनका आँखा भरिएका थिए । जिन्दगीभर सँगै जिउँने र सँगै मर्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबीचको सम्बन्धमा अहिले तिक्तका आएपछि उनी समस्यामा त छिन् नै । न त उनले परिवारबाट गहिरो सहानुभूति पाएकी छिन्, न त श्रीमानले उनलाई स्वीकार्न नै चाहेका छन् ।

यता, महिला सञ्जाल इटहरीकी अध्यक्ष विमला ढकालले भने थुप्रै घरेलु हिंसामा परेका महिलाहरु रहेको भएपनि खुलेर कुरा राख्न नसक्ने तर्क गरिन् । उनले भनिन्, ‘यो केसमा श्रीमानबाट ज्यादै अपहेलित भएर बसेकी ती युवती समस्यामा छिन्, हामीले मिलाउँने प्रयास गरिरहेका छौँ ।’
उनले फेसबुक, ह्वाटसप लगायत सामाजिक सञ्जालमा युवतीकी जेठाजु बिजय प्याकुरेलले तल्लो स्तरका गालीगलौजहरु गरेको बताउँदै टाकुरान्यूजसँग भनिन्, ‘ती शब्दहरु त हेर्नै नसक्ने स्थिति छ, श्रीमानबाटै धेरैजसो महिलाहरु पीडित छन् ।’

यो आर्थिक बर्षमा मात्रै इटहरीमा ३० वटा भन्दा बढी घरेलु हिंसाका मुद्धा आएको र त्यसमध्ये ९ वटा अदालतमा गएको उनले बताईन् ।
ती युवतीको समस्यामा अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक बिनोद शर्माले समन्वय गरेको र पीडितलाई न्याय दिलाउने ढकालले बताईन् ।















Discussion about this post