इटहरी : कोशी प्रदेश सरकारले सोमबार ल्याउने नीति तथा कार्यक्रममा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।
सरकार गठनसम्बन्धी विवादको मुद्दा किनारा नलाग्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने भएपनि कांग्रेसले सहभागी जनाउने भएको हो ।
यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा र त्यसपछि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको विषयमा भएको छलफलका बैठक कांग्रेसले बहिष्कार गरेको थियो ।
सर्वोच्च अदालतमा मुद्दा थाती रहेको जनाउँदै कांग्रेसले ती बैठक बहिष्कार गरेको थियो । तर, सोमबारको बैठकमा भने कांग्रेसका सांसद सहभागी हुने भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसका केदार कार्की नेतृत्वको सरकार छँदाछँदै संकल्प प्रस्ताव पारित गराएर सरकार विस्थापनको असंवैधानिक प्रयास भएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।
“नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा हामी सहभागी हुँदैछौँ,” कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, “प्रतिनिधिसभामा समेत हाम्रो दलको गतिरोध अन्त्य भइसकेको छ । अब यहाँ हाम्रो फरक मत भएपनि आफ्ना कुराहरू सदनमा राख्नुपर्छ भन्ने नै हो । धेरै सांसदहरूले सहभागी हुनुपर्छ भन्ने सुझाव दिनु भएको छ ।”
प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुङले सोमबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीका अनुसार प्रदेशमन्त्री परिषद्ले आइतबार आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।



















Discussion about this post