इटहरी : इटहरी प्रशासनले वास्ता नगरेका कारण इटहरीका एक कोरोना संक्रमित अहिले घरमै छन् ।
मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी अहिले घरमै छन् । बिहीबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
इटहरी ५ का २७ बर्षीय उनी १९ गते जनकपूरबाट ज्वरो आएर धरान आएका थिए ।
‘अहिले लगातार खोकी लागेको छ, श्वासप्रश्वासमा पनि समस्या आएको छ,’ उनले टेलिफोन सम्पर्कमा टाकुरान्यूजसँग भने, ‘श्वासप्रश्वासमा समस्या आएपछि मैले पटक–पटक धरानस्थित वीपी प्रतिष्ठानमा जानकारी गराउँदा पनि वास्ता नै गरेको छैन ।’
उनले आज विहानै दुईपटक फोन गरेपछि आँफूहरुले बेडको व्यवस्था मिलाएर सम्पर्क गर्ने बताएपनि अहिले फोन गर्दा फोन नउठाउने गरेको बताए ।
उनले भने, ‘मैले लगातार धरानस्थित वीपी प्रतिष्ठानमा सम्पर्क गर्दापनि फोन उठेको छैन, हेलचेक्र्याईँ भयो ।’
उनले अहिले आफ्नो शरीर गलेको अनुभूत भएको र श्वासप्रश्वासमा समस्या भएको भएपनि स्थानीय जनप्रतिनिधिहरुले वास्ता नै नगरेको बताए ।
अहिले उनी आफ्नो घरमा बेग्ले कोठामा बसेपनि गाउँलेले हेर्ने दृष्टिकोण गलत रहेकाले पनि समस्या रहेको बताए । ‘तत्काल हस्पिटललाइज हुनुपर्ने अवस्था छ, प्रशासनले वास्तै गरेको छैन ।’ उनले भने ।
यता, इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार हस्पिटलमा ठाउँ खाली नहुँदा समस्या रहेको जानकारी दिए । उनले भने, ‘इटहरी अस्पतालले पनि तयारी गर्दैछ, हामी पनि तयारी गर्दैछौँ, ठाउँ खाली नभएर समस्या भएको हो ।’
उता, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई यस बिषयमा बुझ्न पटक–पटक सम्पर्क गरेपनि उनको फोन उठेन ।















Discussion about this post